☰ open Loading... 19 October 2024|  

अर्थमन्त्रीमा विष्णु पौडेल, शेयरबजारको सकारात्मक स्वागत
  | १२ पुष २०७९, मंगलवार ०५:१२

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको अर्थमन्त्रीका रुपमा एमाले महासचिव विष्णु पौडेल नियुक्त भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिने पौडेलले एमालेका तर्फबाट सरकारमा नेतृत्व गर्दै उपप्रधान तथा अर्थमन्त्रीको शपथग्रहण गरेका छन् । पौडेल तेस्रोपटक अर्थमन्त्री बनेका हुन् ।

 

२०१६ मंसीर १६ गते स्याङजाको पुतलीबजार नगरपालिका वडा नं. १० मा जन्मेका पौडेल गत मंसिरमा भएको निर्वाचनमा रुपन्देही २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । पौडेल २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । त्यसअघि २०७० मा रुपन्देहीकै क्षेत्र नम्बर चारबाट निर्वाचित पौडेल संविधानसभा सदस्यमा समेत निर्वाचित भएका थिए । २०७० चैत्र १४ देखि २०७२ असोज ३ सम्म संविधानसभाको संविधान अभिलेख अध्ययन तथा निर्क्यौल समितिको सभापति समेत भइसकेका पौडेल २०५१ सालदेखि नै संसदीय राजनीतिमा छन् । ०५१ सालमा पौडेल पाल्पा ३ बाट निर्वाचित भएका थिए ।

 

त्यस्तै पौडेल २०७८ जेठ १ देखि २०७८ असार २९ सम्म उपप्रधानमन्त्री तथा अर्थमन्त्री, २०७७ असोज २८ देखि २०७८ वैशाख ३१ सम्म पनि अर्थमन्त्री, २०७२ कात्तिक १९ देखि २०७३ श्रावण १९ सम्म अर्थमन्त्री बनेका थिए । उनी अर्थमन्त्री बनेकै दिन शेयर बजार बढेको छ । यसअघि निरन्तर घट्दै आएको शेयर बजारले पनि उनलाई स्वागत गरेको भन्ने महसुस धेरैले गरेका छन् ।

 

पौडेल अर्थमन्त्री बन्ने निश्चित भएपछि सोमबार शेयर बजार ५७ अंकले बढ्यो भने कारोबार २ अर्ब नाघ्यो । त्यसैले पनि उनी अर्थमन्त्री हुँदा लगानीकर्ता र समग्र उद्योगी व्यवसायी पनि खुसी भएकी भन्ने आभास दिलाएको छ । अर्थमन्त्री पौडेल समन्वयकारी भूमिका निभाउन सक्ने राजनीतिज्ञको रुपमा चिनिन्छन् । पछिल्लो समय निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारीबीच आन्तरिक विवाद भएकै कारण अर्थतन्त्रले दुःख पाएको बुझाइ धेरैको थियो । तर, अब त्यो अवस्था रहेन । अर्थमन्त्री पौडेल गभर्नरलाई सँगै लिएर समन्वय गर्न सक्ने खुबी राख्छन् ।

 

उनी यसअघिको कार्यकालमा पनि कुनै विवादमा आएनन् । बरु विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसकोे समयमा पनि अर्थतन्त्रलाई सही दिशामा लैजान उनले प्रभावकारी भूमीका खेलेको मानिन्छ । अर्थमन्त्रीका रुपमा ९ महिना भएपनि दोस्रो कार्यकाल सुखद रहेको धेरैले विश्लेषण गरेका छन् । लामो समयदेखि संकटको सामना गरिरहेको अर्थतन्त्रको नेतृत्व सम्हालेका अर्थमन्त्री शर्माको यो कार्यकाल कस्तो रहनेछ भन्ने विषय हेर्नको लागि भने केही समयको प्रतिक्षा गर्नुपर्ने हुन्छ ।