☰ open Loading... 19 October 2024|  

हिमपातका कारण ८ प्रहरी चौकी सारिए
  | १३ पुष २०७९, बुधबार ०५:१०

चिसो र हिमपात हुन थालेसँगै कर्णाली प्रदेशका उच्च हिमाली जिल्लाका ८ वटा प्रहरी चौकी सदरमुकाममा अस्थाई रुपमा सारिएको छ। डोल्पा, हुम्ला र मुगुका ८ प्रहरी चौकीहरू जिल्ला प्रहरी कार्यालयमा सारिएको हो।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार डोल्पामा ५ वटा प्रहरी चौकी, हुम्लामा २ वटा प्रहरी चौकी र मुगुमा १ वटा प्रहरी चौकी जिल्ला सदरमुकाममा सारिएका हुन्। हिमपातसँगै प्रहरी चौकी भएका स्थानहरू अन्य क्षेत्र सँग सम्बन्ध विच्छेद हुने भएकाले ती प्रहरी चौकीमा कार्यरत सबै प्रहरीसँगै हतियार र अन्य सामाग्रीसहित चौकीमा ताला लगाएर सदरमुकाम फर्किएका हुन्।

डोल्पाका इलाका प्रहरी कार्यालय, नाम्दो, इलाका प्रहरी कार्यालय, तिन्जे, प्रहरी चौकी भिजेर, प्रहरी चौकी धौ, अस्थाई प्रहरी चौकी बेश राप रहेका छन् भने, हुम्लामा इलाका प्रहरी कार्यालय लिमि, इलाका प्रहरी कार्यालय हिल्सा रहेको छ। त्यस्तै मुगुमा इलाका प्रहरी कार्यालय मुगु रहेको छ।

हिमपातका कारण कर्णालीका उच्च भागहरूका बस्तीहरू करिब ४ महिना खाली हुन्छन्। स्थानीयहरू हिउँ नपर्ने भागतिर सर्ने गर्दछन्। नेपाल प्रहरीसँग अत्यधिक चिसो र हिउँ परेका बेला बस्ने घरदेखि ओढ्ने, ओछ्याउने र लगाउने कपडासमेत सरकारले उपलब्धता नभएका कारण करिब ४ महिना हिउँले ढाँकेको स्थानमा बस्न गाह्रो हुने भएकाले सदरमुकाममा प्रहरी टोली नै सर्नु परेको प्रहरी अधिकारीहरू बताउँछन्।

हिमपात हुनु अगावै नै प्रहरी टोली जिल्ला सदरमुकाममा सारिने कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव प्रसाद श्रेष्ठले बताए।