☰ open Loading... 19 October 2024|  

खाँडाचक्रका नासुविरूद्ध भ्रष्टाचार मुद्दा
  | १३ पुष २०७९, बुधबार ०५:१५

कालीकोटको खाँडाचक्र नगरपालिकाका नायब सुब्बा दीपकराज देवकोटाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले मंगलबार विशेष अदालत काठमाडौंमा उनीविरूद्ध आरोपपत्र दायर गरेको हो । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उनीमाथि एक लाख ९७ हजार ८९५ रुपैयाँ हिनामिना गरेको आरोप छ । खाँडाचक्र नगरपालिका पोल्ट्री बंगुर फार्मलाई ४२० वटा कुखुरा उपलब्ध गराउने सम्झौता भएको थियो । तर देवकोटाले उक्त फार्मको नाममा भुक्तानी लिएर चेक लुकाएका थिए ।

 

त्यसबापत उनले घुस मागेको भन्ने सूचना अख्तियारले पाएको थियो । उक्त सूचनापछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो । खाँडाचक्र नगरपालिकाले वडा नम्बर ३ र ४ मा लघु उद्यम विकास अन्तर्गत कुखुरा पालन सीप विकास तालिम कार्यक्रम आयोजना गरेको थियो । देवकोटाले कुखुराको साकोनी जातको चल्ला सम्झौताकर्ताबाट खरिद गरी तालिम कार्यक्रम आफैंले सञ्चालन गर्ने भनी सम्झौता गरेका थिए । तर आफैंले गरेको सम्झौताविपरित समयावधि तालिम सञ्चालन नगरिएको पाइएको प्रवक्ता भण्डारीले बताए । उनले एक दिन तालिम सञ्चालन गरी १५ दिन सञ्चालन गरेको देखाएर कार्यक्रम पूर्ण रूपमा सञ्चालन भएको भनेका थिए ।

 

कार्यक्रमका झूटो बिल भरपाई तथा कागजात तयार गरी कार्यालयबाट एक लाख ९७ हजार ८९५ रुपैयाँ भुक्तानी लिई हिनामिना गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ । उनीविरूद्ध उक्त रकम बिगो कायम गरी कैद र जरिबाना समेत माग गरिएको छ । त्यस्तै फार्मलाई चल्ला किनेबापत एक लाख ८० हजार १८० रुपैयाँ सम्झौताअनुसार भुक्तानी दिनुपर्ने थियो । त्यसबाट पनि उनले ३० हजार १८० रुपैयाँ घुस लिएको देखिएको अख्तियारले जनाएको छ । उक्त रकम बिगो बमोजिम जरिवाना जफत गरी अदालतमा आरोपपत्र दायर भएको हो ।