☰ open Loading... 19 October 2024|  

गुराँस गाउँपालिकाले गाउँ बस्तीमै गएर साना योजना सम्झौता गर्ने
  | १३ पुष २०७९, बुधबार ०५:२०

दैलेखः गुराँस गाउँपालिकाले गाउँ बस्तीमै गएर साना योजना सम्झौता गर्ने निर्णय गरेको छ । सानातिना योजनाको लागि पालिकामै पुग्नु असजिलो भएको भन्दै गुराँस गाउँपालिकाले नागरिकले दुःख नहोस भनेर यस्तो निर्णय गरेको हो ।

गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतको नेतृत्वमा आज पुस १२ गते कर्मचारी गाँउमै खटाई योजना सम्झौता घुम्ति शिविर सञ्चालन गरिएको गुराँस गाँउपालिकाले जनाएको छ । गाउँमै योजना सम्झौता हुन थालेपछि स्थानीयबासीले गाउँमै सिंहदरबार आएको अनुभव लिएको बताउँछन् ।

यहाँ भन्दा अघिका ५ बर्षमा हामी पालिकामै गएर योजना सम्झौता गथ्यौं । उपभोक्ता समितिलाई पनि हैरानी खेप्नु परेको थियो । यो सरकारले गाउँमै आएर योजना सभ्झौता गरेकाले समयको बचत हुनुको साथै उपभोक्ता दुःख हटेको वडा नं ७ का नविन थापाले बताए । अब बल्ल सिंहदरबार गाउँमा आए जस्तै भयो । गाउँपालिकाको केन्द्र रानीमत्ता पुग्दा लाग्नसक्ने खर्च बचाइदिएकोमा खुसी छौं, उनले भने ।

गुराँस गाउँपालिकाका प्रवक्ता एवं वडा नं ८ का वडाअध्यक्ष दीपेन्द्र ओलीले भने, पुस ७ गते बसेको गाउँकार्यपालिकाको बैठकको निर्णयअनुसार “श्रमको सम्मान, राष्ट्रको अभियान” भन्ने नाराको साथ चालू आर्थिक वर्षका स्वीकृत बार्षिक कार्यक्रम अन्तर्गतका योजना सम्झौता गर्न वडाहरुमा घुम्ति शिविर सञ्चालन गरिएको हो । जसअनुसार पुस १३ गते ६ नम्बर वडा, १४ गते ५ वडा, १७ गते ४ वडा, १८ गते ३ वडा, १९ गते २ वडा, २० गते १ वडा र पुसको २१ गते ८ नम्बरवडामा शिविर सञ्चालन हुनेछ ।

योजना सम्झौताको लागि एकै पटक सबै वडाबाट गाउँकार्यपालिकाको कार्यालयमा उपभोक्ताहरु पुग्दा भिडभाड हुने,रकम खर्च हुने देखियो,गाउँपालिकाले योजना सम्झौतालाई गाउँमै गएर निर्णय गरेको हो । उनले भने, ‘आजबाट निर्णयको कार्यान्वयन गरिएको छ ।’

नागरिकको मागअनुसार योजना निर्माणको लागि थोरै–थोरै बजेटसमेत बिनियोजन गरिएका हुन्छन् । योजना सम्झौता, फरफारकलगायतका काम गर्ने बेलासम्म यातायात, खाजा, खानामै उपभोक्ताले थुप्रै आर्थिक बोझ ब्यहोर्नुपर्ने हुन्थ्यो । यो अभियान सँगै त्यो कुराको अन्त्य हुनेमा पालिकाले विश्वास लिएको छ उनले थपे ।