☰ open Loading... 19 October 2024|  

‘वि एफ ७’ भेरियन्ट बढी संक्रामक
  | १४ पुष २०७९, बिहीबार ०५:०५

काठमाडौंः छिमेकी मुलुक चीन र भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट छोटो समयमा नै धेरै व्यक्तिमा संक्रमण गर्ने खालको रहेको बताइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी मुलुक चीन र भारतमा देखिएको ‘वि एफ ७’ नामक प्रजातिको नयाँ भेरियन्ट चाँडै नै अरुमा सार्ने खालको रहेको जनाएको छ । मन्त्रालयकै इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमनलाल दासले अध्ययनअनुसार कोरोना भाइरसको अरु प्रजातिभन्दा सो भाइरसले धेरै मानिसममा संक्रमण सार्ने बताए ।

 

उनका अनुसार ‘वि एफ ७’ ले अरु भेरियन्टभन्दा तीन–चारगुणा बढी संक्रमण सार्ने गर्दछ । उनले भने, ‘चीन र भारतमा यस किसिमको नयाँ भेरियन्ट फैलिरहेको छ । भारतमा पाँच जनामा देखिएको छ । भारतमा देखिएकाले हामी सतर्कता अपनाउनुपर्दछ ।’  नेपालमा भने ‘वि एफ ७’ नामको नयाँ भेरियन्ट अझै फेला नपरेको मन्त्रालयले जनाएको छ । एक महिनामा देशका विभिन्न ठाउँबाट संकलन गरिएको ४८ नमुनाको जिन सिक्वेन्सिन गर्दा ‘वि एफ ७’ नामक प्रजातिको भेरियन्ट फेला नपरेको हो ।

 

मन्त्रालयले नयाँ भेरियन्टको जोखिम हुन नदिनका लागि नेपाल–भारत सीमानाका र अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने यात्रुको ज्वरो नाप्ने, शंकास्पद व्यक्तिको एन्टिजेन परीक्षण र जीन सिक्वेन्सिङ गर्ने कार्य गरिरहेको छ । नेपालमा अहिले कोरोना भाइरसको संक्रमण घट्दै गइरहेको छ । पुस ११ गते एक जनालाई मात्र संक्रमण देखिएको थियो । अहिले सक्रिय संक्रमित १० जना मात्र रहेका छन् ।