☰ open Loading... 20 October 2024|  

कर्णालीमा आत्महत्याकाे संख्या बढ्दो
  | १४ पुष २०७९, बिहीबार ०५:१३

कर्णालीमा वर्षेनि आत्महत्या गर्नेहरूको संख्या विकराल बन्दै गइरहेको छ। विभिन्न कारणले आत्महत्या रोज्नेहरूको संख्या न्यूनीकरणका लागि प्रयासहरू गर्नुपर्ने देखिन्छ।

एक अध्ययनका अनुसार ९० प्रतिशत आत्महत्याका घटनाहरू मानसिक स्वास्थ्य समस्याका कारण हुने गरेको पाइन्छ। कर्णालीमा गरिबी, अशिक्षा, स्वास्थ्य सेवामा कम पहुँच लगाएका कारणले आत्महत्यासम्मको बाटो रोज्नुपरेको अध्यायनले देखाउँछ।

कर्णालीमा गरिबी तथा अन्य कारणले विष खाएर, आगो लगाएर, झुन्डिएर, हातहतियारबाट, हाम फालेर, करेन्ट लगाएर तथा डुबेर ३ वर्षभित्र ९ सय ४६ जनाले आत्महत्या गरे। मनोसामाजिक सहयोग र मानसिक स्वास्थ्य सेवामा पहुँच, सामाजिक रुपमा क्रियाशील, धार्मिक तथा आध्यात्मिक क्रियाकलापमा संलग्न, लगायतका कुराहरूमा संवेदनशील भए आत्महत्याका घटनाहरू न्यूनीकरण हुनसक्ने देखिन्छ। जसका लागि सरकारले देशका कुनाकाप्चासम्म अभियान नै चलाउनुपर्ने देखिन्छ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार वर्षे नि कर्णालीमा आत्महत्या गर्नेहरूको संख्या बढ्दो रहेको छ। आर्थिक वर्ष ०७६/०७७ मा कर्णालीमा २ सय ९० जनाले आत्महत्या गरेका छन्। सबैभन्दा बढी झुन्डिएर २ सय ३४ जना र सबैभन्दा कम डुबेर १ जना रहेका छन्। पुरुष १ सय ६६ जना, महिला ८९ जना, बालक १८ र बालिका १७ जनाले आत्महत्या गरेको प्रहरी रेकर्ड रहेको छ। आत्महत्याका मुद्दा २ सय ८६ वटा प्रहरीमा भए। आर्थिक वर्ष ०७७/०७८ मा ३ सय ६५ वटा आत्महत्याका घटना भए। जसमा सबैभन्दा बढी झुन्डिएर २ सय ८६ जना र कममा ४ जना डुबेर आत्महत्या गरे। प्रहरीमा मुद्दा दर्ता ३ सय ६२ वटा भयो। आत्महत्या गर्ने पुरुषहरू १ सय ९० जना, महिला १ सय ३४ जना, बालक २० जना, बालिका २१ जना रहेका छन्।

त्यस्तै आर्थिक वर्ष ०७८/७९ मा आत्महत्या गर्ने संख्या २ सय ९१ जना रहेका छन्। प्रहरीमा मुद्दा दर्ता संख्या १ सय ९० रहेको छ। झुन्डिएर २ सय ३० जनाले गरेका छन् भने विष खाएर ५६ जना र सबैभन्दा कम आगो लगाएर र हातहतियार प्रयोग गरेर १/१ जना रहेका छन्।

यस आर्थिक वर्षमा पुरुष १ सय ६७ जना, महिला ८९ जना, बालक ९ जना, बालिका २६ जना रहेका छन्। कर्णालीमा डरलाग्दो रुपमा आत्महत्या घटनाहरू बर्सेनि बढिरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले बताए।

आत्महत्या रोकथाम चुनौतीको रुपमा लिइँदै आएको छ। १५ देखि २९ वर्ष उमेर समुहमा आत्महत्या बढी हुने गरेको तथ्याङ्कले देखाएको छ। आत्महत्या अनुवांशिक, मनोवैज्ञानिक, सामाजिक, पारिवारिक वातावरण तथा अन्य जोखिमका कारण हुनसक्ने जनाइएको छ। ९० प्रतिशत आत्महत्या मानसिक कारण हुने अध्यायनले देखाएको छ। सरकाले आत्महत्या रोक्न कारणसहित बस्ती बस्तीमा अध्ययन गरेर विशेष कार्यक्रम ल्याउनुपर्ने अधिवक्ता दुर्गा प्रसाद सापकोटाले बताए।