☰ open Loading... 20 October 2024|  

कर्णाली राजमार्ग क्षतविक्षत: यात्रुहरूको बेहाल
  | १५ पुष २०७९, शुक्रबार ०५:१४

दशैं लगत्तै आएको बाढी पहिरोले भत्किएर क्षतविक्षत भएको कर्णाली राजमार्ग समयमै मर्मत साभार नहुँदा अहिले राजमार्ग दुरावस्थामा छ।

सवारी साधन सञ्चालनका लागि मात्र खोलिएको राजमार्ग अचेल जोखिमपूर्ण अवस्थामा रहेको छ। प्राय राजमार्ग खाल्डाखुल्डी र धुलाम्मे छ त्यसमा पनि साँगुरो उस्तै। अचेल सुर्खेतदेखि जुम्लासम्म यात्रा गर्नेहरू धुलोले चिन्न नसक्ने अवस्थामा पुग्ने गर्दछन्।

सडक डिभिजन कार्यालयले तत्कालका लागि सडक खुलाउने कार्य गरेपछि स्तर उन्नति लगायतका काम गर्न नसक्दा राजमार्गको अवस्था बिजोक भएको हो। जसका कारण कर्णाली राजमार्ग प्रायः खाल्डाखुल्डी, साँगुरो र धुलाम्मे छ।

बर्सातले तहसनहस पारेको कर्णाली राजमार्गलाई सरकारले विशेष बजेटसहित सडक सुधार गर्न पहल गरेको छैन्। बर्सेनि कालिकोट, जुम्ला, मुगु, हुम्ला र पश्चिम दैलेखका स्थानीयहरू चुपचाप सास्ती खेपेरै यात्रु गर्नुपर्ने बाध्यता छ।

यहाँका नेता तथा माननीयहरूको राजमार्ग सुधारका लागि पहुँच नपुग्दा यात्रुहरूले ज्यानको जोखिम मोलिरहेका छन्। सडक डिभिजन कार्यालय सुर्खेत र जुम्लाबाट नियमित बजेट बाहेक थप बजेट व्यवस्थापन गरेको छैन्। राजमार्गको अवस्था बिग्रँदा दुर्घटना जोखिम पनि उस्तै छ।

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजिव श्रेष्ठले कालिकोट जुम्ला र मुगुसम्मको सडक सुधारका लागि काम भइरहेको बताए। ठुलो क्षति भएकाले सुधारका कामहरू भइरहे पनि तत्काल सडक स्तर उन्नतिका लागि गाह्रो हुने श्रेष्ठको भनाई छ। प्राय कालिकोट र दैलेख खण्डमा सडक बिग्रेको छ।

सडक धुलोले भरिदा यात्रुहरूलाई सास्ती भएको आठविस नगरपालिकाका सामाजिक अगुवा नैनबहादुर शाहीले बताए।

‘बर्सातले सडक बिग्रेर यात्रा झन कष्टकर हुने गर्दछ।’ सामाजिक अगुवा नैनबहादुर शाहीले भने, धुलोले यात्रुहरू चिन्नै गाह्रो हुने गर्छन्।’

सडक डिभिजन कार्यालय जुम्लाका अनुसार कालिकोटको सेराबाडादेखी नाग्मसम्म २६ किलोमिटर सडक पहिरोले धुलाम्मे छ। कालिकोटको नाग्मदेखी गमगढीसम्म ९३ किलोमिटर सडकमा १८ किलोमिटरभित्र पहिरो गएको थियो। त्यस्तै कालिकोटको पिली, सेरीबाडा, भिक्म र बालीमा ठुलो पहिरो गएको थियो। त्यहाँ सडक नै बगाएका कारण नयाँ सडक खोलेर गाडी सञ्चालनमा ल्याइएको छ। दैलेख खण्डमा बर्सातमा गएको पहिरोले हिउँदमा कर्णाली राजमार्गको यात्रा गर्नेहरू साँगुरो र धुलाम्मे सडक हुँदै हिँड्नुपर्ने बाध्यता छ।

सरकारले वैकल्पिक मार्गका रुपमा रहेको दैलेख बजार महावु कालिकोट जुम्ला सडक खुलाउनुपर्ने आवाज जनताहरूबाट आएको छ। यो मार्ग खुले सडक सहज हुनुका साथै जुम्ला पुग्न ४८ देखी ६४ किलोमिटर छोटो पर्ने ईन्जिनियिरहरु बताउँछन्। राजनीतिक खिचाँतानीले दैलेख महावु हुँदै जुम्ला पुग्ने छोटो मार्गमा बजेट पारिदैन्। त्रिदेशीय सडक भारत, नेपाल र तिब्बत (चिन) जोड्ने रणनीतिक सडक जमुनाह (बाँके) दैलेख महावु , कालिकोट, जुम्ला हुँदै मुगुको नाप्चेनाङ्गलासंगै चिन जोड्ने भन्दै सरकारले बर्सेनि बजेट भाषण गरेपनि काम हुन सकेको छैन्।