☰ open Loading... 23 October 2024|  

सात पटक म्याद थप, अझै बनेन सडक
  | २१ पुष २०७९, बिहीबार ०५:१०

सुर्खेत । पाँच वर्ष पहिला निर्माण सुरू गरिएको रुकुम पश्चिम मुसीकोट नगरपालिकामा रहेको शीतलपोखरी–झुल्खेत–चुन्वाङ सडकखण्डको म्याद सात पटक थप गरिएपनि ठेकेदार सम्पर्कविहिन भएका छन् ।

ग्रामीण सडक सञ्जाल सुधार आयोजनाअन्तर्गत सञ्चालित उक्त सडकखण्ड निर्माणका लागि पि.एच./एस.एम.एन.एस. जेभीले जिम्मा लिएको थियो । ०७४ सालमा निर्माण सुरू गरिएको उक्त सडकखण्डको काम ठेकेदार कम्पनीको कारण बेलैमा हुन नसकेको आयोजना कार्यान्वयन इकाई रुकुमपश्चिमका व्यवस्थापक टंकप्रसाद खनालले जानकारी दिए ।

जम्मा १८ किलोमिटर लामो सडकखण्ड दुई वर्षमा निर्माणसम्पन्न गर्नका सुरुमा निर्माण कम्पनीसँग ०७४ सालमा सम्झौता भएको थियो । समयमै काम सम्पन्न हुन नसकेपछि शहरी विकास मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विभागले आगामी जेठ ११ गतेसम्म अन्तिम म्याद राखेर सातौ पटक म्याद थप गरेको आयोजना प्रमुख खनालले जानकारी दिए । निर्माण कम्पनीका प्रमुख हेमराज गुभाजुसँग बारम्बार सम्पर्क गर्दा पनि सम्पर्कमा नआएको उनले बताए । ठेकेदारलाई सम्पर्कमा आउन र समयमै काम सम्पन्न गर्न आयोजना कार्यालयले सार्वजनिक रुपमै सूचना प्रकाशन गरेको समेत जनाईएको छ ।

आयोजना कार्यालयका अनुसार निर्माण कम्पनीले भ्याट सहित ८९ करोड ८० लाखको लागतमा शीतलपोखरी–झुल्खेत–चुन्वाङ र बालुवा–नयगाड जामाबगर–त्रिवेणी सडकखण्ड निर्माणका लागि सम्झौता गरेको थियो । हालसम्म सम्झौताको ६७ प्रतिशत भौतिक र करिब ४६ प्रतिशत वित्तिय प्रगति भएको आयोजना व्यवस्थापक खनालले उल्लेख गरे  । शीतलपोखरी–झुल्खेत–चुन्वाङ सडकखण्डको १८ किलोमिटर सडकमध्य १५.५ किलोमिटर भूभागमा ट्रयाक खोलेर गाडि समेत सञ्चालन हुने गरेका छन् । जंगल र भिरको भूगागमा ट्रयाक खोल्न बाँकि रहेको छ । ठेकेदार कम्पनीले हालसम्म उक्त सडकखण्डको ६ किलोमिटरसम्म बेस कालोपत्रे र १३ किलोमिटर सडकको बेस र नाली निर्माणसम्पन्न गरिसक्नुपर्ने भएतापनि काम नै सुरु भएको छैन ।