☰ open Loading... 23 October 2024|  

कर्णालीका कुरा गर्न करोड बढी खर्च!
  | २१ पुष २०७९, बिहीबार ०५:१२

सुर्खेत । आगामी फागुन ५, ६ र ७ गते कर्णाली उत्सवको चौंथो संस्करण सञ्चालन हुँदैछ । यस अघिल्ला वर्षहरुमा लगातार तीन वटा संस्करण सपन्न भैसकेका छन् ।

कर्णाली उत्सव ‘कुडा कर्णलीका’ ऋति फाउण्डेसनको आयोजनामा सञ्चालन हुने बैचारिक बहसको कार्यक्रम हो ।

कर्णाली प्रदेशको सम्भावनाको विषयमा कुरा गर्ने, कर्णालीलाई चिन्ने र चिनाउने अभियान सहित कर्णालीको विषयमा गरिने राष्ट्रिय बहसको कार्यक्रमका रुपमा यसलाई लिने गरिएको छ ।

कर्णाली उत्सवको चौंथो संस्करण सञ्चालन हुँदैगर्दा यसको आय–व्यय र उपलब्धी सम्बन्धमा जनचासोको विषय बनेको छ ।

कर्णालीका कुरा गर्न आयोजित यस कार्यक्रममा तेस्रो संस्करणसम्म करोड बढी रकम खर्च भएको छ । ऋति फाउण्डेसनको सार्वजनिक लेखापरीक्षण प्रतिवेदन अनुसार एक करोड ६१९ रुपैयाँ खर्च देखिन्छ ।

फाउण्डेसनले कर्णाली उत्सवका लागि संघ, प्रदेश र स्थानीय सरकार, नीजि क्षेत्र, बैंक तथा वित्तिय संस्था, दातृ निकाय लगायतका स्रोतबाट रकम लिएको छ । जसअनुसार प्रदेश सरकारले ३८ लाख ८५ हजार ६८१ रुपैयाँ कर्णालीका कुरा गर्न खर्चिएको छ ।

विभिन्न स्थानीय तहले १० लाख ६४ हजार ६४९ रुपैयाँ, नीजि क्षेत्रबाट १२ लाख ५८ हजार ६८८ रुपैयाँ, बैंक तथा वित्तिय संस्थाले २५ लाख ६ हजार ३५० रुपैयाँ, दातृ निकायले एक लाख, संघीय सरकारले ४२ हजार पाँच सय र अन्य स्रोतबाट ११ लाख ४२ हजार ७५१ रुपैयाँ खर्चिएका छन् ।

यसैगरी, कर्णाली उत्सव अन्तरगत संकलन गरिएको रकमलाई सबैभन्दा बढि खाना र आवास खर्च गरिएको छ । उत्सवका वक्ता, सञ्चालक, आयोजक र अतिथिको खाना र आवासका लागि ३८ लाख ६१ हजार ३४० रुपैयाँ खर्च देखाईएको छ ।

हवाई यातायातमा १३ लाख ९४ हजार ६१५ र स्थानीय यातायातका लागि तीन लाख ९९ हजार ३७१ रुपैयाँ खर्च देखाईएको छ ।

कार्यक्रम प्रवद्र्धनका लागि आठ लाख ८८ हजार ५८८ रुपैँया, कार्यक्रम पूर्व तयारी गर्न तीन लाख २५ हजार ३६८ रुपैँया र स्वंयम्सेवक खर्च ६ लाख ६६ हजार ७०० रुपैयाँ र टेन्ट तथा साउण्डका लागि नौं लाख ४९ हजार ८६७ रुपैँया खर्च देखाईएको छ ।

यसैगरि, विजुली तथा तेल खर्च एक लाख ५१ हजार पाँच सय रुपैँया, स्टेशनरी खर्च पाँच लाख ९९ हजार २५२ रुपैँया, सांस्कृतिक कार्यक्रमका लागि एक लाख ५९ हजार रुपैँया र अघिल्ला आर्थिक वर्षहरुको तिरेको रकम ६ लाख पाँच हजार १८ रुपैँया देखाईएको छ ।