☰ open Loading... 23 October 2024|  

१२ वर्षपछि समय जनाउँदै घण्टाघरको घडी
  | २२ पुष २०७९, शुक्रबार ०५:२५

सुर्खेत । सुर्खेत वीरेन्द्रनगर बिच बजारमा रहेको घण्टाघरका पुराना घडी हटाएर नयाँ घडी जडान कार्य भइरहेको छ । करिब १२ वर्षदेखि बन्द रहेका घडीहरू सञ्चालनमा ल्याउन वीरेन्द्रनगर नगरपालिकाले करिब १२ लाख लागतमा नयाँ घडी जडान गरेको हो।

लामो समयदेखि बन्द घण्टाघरका घडी सञ्चालनमा ल्याउन सुर्खेत उद्योग वाणिज्य सङ्घको समन्वयमा वीरेन्द्रनगर नगरपालिकाले काम सुरु गरेको हो । घण्टाघरको चारैतिर रहेका पुराना घडीहरू मर्मत हुन नसकेपछि भारतको हैदरावादमा रहेको घडीको एक कम्पनीबाट घडीहरू ल्याएर जडान कार्य भइरहेको छ । करिब एक सातादेखि सुरु भएको घडी जडान कार्य सकिएको छ । अब केही दिनमा नै घडी सञ्चालनमा आउने वीरेन्द्रनगर सुर्खेतमा प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले जानकारी दिए।

उनका अनुसार, वीरेन्द्रनगर नगरपालिकाको ऐतिहासिक धरोहरको रूपमा रहेको घण्टाघरको संरक्षणको जिम्मा लिएको वीरेन्द्रनगर नगरपालिकाले भारतबाट नयाँ घडीहरू ल्याएर शुक्रबारदेखि जडान कार्य सुरु गरेको हो ।

नयाँ नयाँ घडी जडान गर्नका लागि प्राविधिक टोलीले २०४५ सालमा घण्टाघरको निर्माणको क्रममा जापानबाट ल्याएर जडान गरिएका पुराना घडीहरुलाई विस्थापित गरी नयाँ घडीहरू जडान गरेको छ । २०४५ सालमा चीन सरकारको सहयोगमा बनेको घण्टाघरको घडीको सुई १२ वर्षदेखि रोकिएको छ । घण्टाघरको सुईले स्थानीयलाई समयको अड्कल लगाउन सहज बनाएको थियो ।

१२ वर्ष अघिसम्म घण्टाघरमा जति बज्यो त्यतिपल्ट धुन समेत बज्ने र घडीको सुई सर्ने स्थानीयहरू बताउँछन्। घण्टाघरको सुई बन्द हुँदा घण्टाघरको पहिचान नै सकिएको स्थानीयले गुनासो गर्दै आइरहेका थिए । घण्टाघरमा नयाँ घडी सञ्चालनमा आइसकेपछि समय सङ्गै पुरानै स्वरूपमा घण्टाघरमा धुन पनि सुनिने छ।

वीरेन्द्रनगरको बिच बजारमा अवस्थित रहेकोले घण्टाघरको सबैभन्दा माथिल्लो तलाबाट वीरेन्द्रनगरको अधिकांश ठाउँ देख्न सकिन्छ । घण्टाघरमा नयाँ घडीको जडान सङ्गै घण्टाघर पार्क लगायतका स्थानहरूको पनि संरक्षण गर्ने योजना वीरेन्द्रनगर नगरपालिकाले बनाएको छ।