☰ open Loading... 7 September 2024|  

सातै प्रदेशले पाए मुख्यमन्त्री
  | २८ पुष २०७९, बिहीबार ०५:०९

काठमाडौं । संघीय संरचना अनुरुप सातै प्रदेशमा मुख्यमन्त्री नियुक्त भएका छन् ।  सत्ता गठबन्धनमा रहेका दलहरुको सहमतिमा बुधवार बेलुकाबाट सबै सातवटै प्रदेशमा मुख्यमन्त्रीकाे नियुक्तिले पूर्णता पाएको हो ।

सत्ता गठबन्धनका शीर्ष तहबाटै भागबण्डा गरी सातै प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रिया अगाडि बढाइएको हो । प्रदेश १ मा आइतबार एमालेका हिक्मत कार्की मुख्यमन्त्रीमा नियुक्त भइसकेका छन् ।

१ नं प्रदेशसभामा नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ जना सांसद गरी ६० सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् । कार्की नेतृत्वको तीन सदस्यीय मन्त्रिमण्डलले प्रदेश सरकार सञ्चालन गरिरहेको छ । गठबन्धन दलको सहमतिमा मन्त्रिमण्डल थप बिस्तार गरिने बताइएको छ ।

मधेश प्रदेशमा बुधबार सरोज यादव मुख्यमन्त्रीमा नियुक्त भएका छन् । जसपा मधेश प्रदेशसभा संसदीय दलका नेता रहेका यादवलाई बुधबार दिउँसो प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री नियुक्त गरेका हुन ्।यादवले बहुमत सांसदहरूको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुख मिश्रसमक्ष दाबी गरेका थिए ।

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । गण्डकी प्रमुख पृथ्वीमान गुरुङले अधिकारीलाई सोमबार मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।
६० सदस्यीय प्रदेशसभामा एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र सांसद गरी ३३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्तिका लागि अधिकारीले दाबी पेस गरेका थिए ।

यस्तै बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेल नियुक्त भएका छन ्। माओवादी संसदीय दलका नेता जम्कट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। ११० सदस्यीय प्रदेश सांसद रहेको बागमती प्रदेशमा जम्कट्टेलले ७० जना सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका थिए ।

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लिला गिरी मुख्यमन्त्री नियुक्त भएका छन् । एमाले संसदीय दलका नेता गिरीलाई प्रदेश प्रमुख अमिक शेरचनले बुधवार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

उनले एमालेका २९, माओवादीका १०, राप्रपाका ४, नागरिक उन्मुक्ति पाटीका ४, जसपा ३, स्वतन्त्र २, जनमत ३, लोसपा ३ गरी ५८ जना सांसदको समर्थन रहेको दाबी पेश गरेका थिए ।

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा(माओवादी केन्द्र)का राजकुमार शर्माले नियुक्त भएका छन्। प्रदेश प्रमुख तिलक परियारले शर्मालाई बुधवार मुख्यमन्त्री नियुक्त गरेका हुन्।
कुल ४० सदस्यीय प्रदेश सभामा शर्माले माओवादी, एमाले, राप्रपा र समाजवादी गरी २५ सांसदको समर्थनरहेको दाबी पेश गरेका थिए ।

यस्तै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्र रावल नियुक्त भएका छन ्। प्रदेश प्रमुख देवराज जोशीले नेता रावललाई बुधवार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन । ५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा सरकार गठनका लागि २७ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्नेमा २९ जनाको समर्थन रावलले पाएका छन ।