☰ open Loading... 19 September 2024|  

‘कर्णाली समृद्धिको अभियान’ थाल्छौँः मुख्यमन्त्री शर्मा
  | २९ पुष २०७९, शुक्रबार ०५:२७

सुर्खेत । कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले ‘कर्णाली समृद्धिको अभियान’ थाल्ने बताएका छन् ।

मुख्यमन्त्रीको पदबहाली गर्दै उनले सुख र खुसी प्राप्त गर्नुपर्ने दुई अभिभारा काँधमा आएको बताए । उनले भने, “सुखी हाम्रो आर्थिक सम्पन्नता र खुसी सामाजिक न्यायसँग जोडिएको छ ।” भौगोलिक विकटता भएको कर्णालीको ठूलो शत्रु नै गरिबी भएको र त्यसको अन्त्यका लागि रोजगार र रोजगारसँगै स्वरोजगार सिर्जना गर्ने उनले बताए।

मुख्यमन्त्री शर्माका अनुसार कर्णाली समृद्धिको अभियान पूरा गर्न प्रतिवर्ष १० हजार बेरोजगारलाई रोजगारी प्रदान गर्न नीति निर्माण, बजेट तर्जुमाका साथै कार्यविधि बनाएर अगाडि बढिनेछ । कर्णालीमा बजेट अभाव र प्रभावकारी कार्यान्वयन नै समस्या भएकाले त्यसको समाधानका लागि संयन्त्र निर्माण गरी कार्यसम्पादनमा जोड दिइने उनको भनाइ छ ।

कर्णालीमा कर्मचारी दण्ड भोग्न आएको महसुस गर्ने मानसिकताको अन्त्य गर्न र उनीहरूको मनोबल बढाएर काम गर्ने वातावरण कसरी बनाउन सक्नुहुन्छ भन्ने पत्रकारको प्रश्नमा मुख्यमन्त्री शर्माले भने, “सङ्घीय प्रणालीमा पनि जनप्रतिनिधि र कर्मचारी सबैले जनताकै काम गर्नुपर्ने हुन्छ । यहाँ कर्मचारीलाई दण्ड नभई कर्णाली जान होडबाजी गर्ने प्रदेश बनाइनेछ ।”

अब निकट केही दिनमै प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाउने भन्दै उहाँले विना विभागीय मन्त्रीका रूपमा नियुक्त गर्नुभएका मन्त्रीद्वय मङ्गलबहादुर शाही र विनोदकुमार शाहलाई छिट्टै जिम्मेवारी दिइने जनाए । शाही नेकपा (माओवादी केन्द्र) मुगु (२) र शाह नेकपा (एमाले) दैलेख क्षेत्र नं २ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

मुख्यमन्त्री शर्माका अनुसार केन्द्रको निर्णयलाई न तोडी बरु सबैका भावनालाई जोडेर संसद् र सरकारलाई व्यवस्थित बनाउँदै प्रदेश निर्माणको यात्रा प्रारम्भ गरिएको छ । यसमा सबैको साथ सहयोग लिएर कर्णालीवासीको हितमा काम गरिने उनले बताए ।