☰ open Loading... 20 September 2024|  

कर्णालीमा खाद्य प्रयोगशाला
  | ९ माघ २०७९, सोमबार ०५:१५

सुर्खेतः खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कर्णाली प्रदेशले उपभोक्तालाई दैनिक उपभोग्य वस्तु गुणस्तरयुक्त खाद्य उपलब्ध गराउन प्रयोगशाला परीक्षण शुरु गरेको छ ।

 

गत जेठदेखि सञ्चालनमा ल्याएको थियो । अहिले भने परीक्षण नै शुरु गरिएको कार्यालयले जनाएको हो । यसले गर्दा गुणस्तरयुक्त खाद्य पाउने नागरिक अधिकारलाई सघाउ पुर्‍याएको कार्यालयका निमित्त प्रमुख भेषबहादुर थापाले जानकारी दिए ।

 

“अहिले दैनिक उपभोग्य वस्तुको प्रयोगशालामा मापन भइरहेको पनि उहाँको भनाइ छ । दैनिक उपभोग्य वस्तुको गुणस्तरयुक्त छ कि छैन भनेर हामीले कर्णाली पहिलो प्रयोगशाला परीक्षण शुरु गरेका छौँ ।” उनले भने, “अब गुणस्तर मापन गर्न बाहिर पठाउनुपर्ने बाध्यता त हटेको छ भने नागरिकलाई गुणस्तरयुक्त खाद्य वस्तु उपभोगमा समेत सघाउ पुगेको छ ।”

 

यसैबीच कार्यालयले तीन महिनाको प्रगति सार्वजनिक गरेको छ । दोस्रो त्रैमासिक प्रगति सार्वजनिक गर्दै ४१.९० प्रतिशत लक्ष्य पूरा गरेको कार्यालयको भनाइ छ । जसअन्तर्गत कार्यालयले ४१.९० प्रतिशत भारित प्रगति र ३०.७७ प्रतिशत वित्तीय प्रगति भएको जनाइएको छ ।

 

कार्यालयका निमित्त प्रमुख थापाका अनुसार पहिलो त्रैमासिकमा कार्यालयले ४०.६७ प्रतिशत भारित प्रगति र ५६.६८ प्रतिशत वित्तीय प्रगति गरेको थियो । कार्यालयले गुणस्तरीय खाद्यान्न उपयोग गर्ने नागरिकको अधिकारलाई ध्यानमा राख्दै बजार अनुगमनसँगै उपभोक्ता सचेतनाका कार्यक्रमलाई बढवा दिएको उनको भनाइ छ ।

 

कार्यालयले तीन महिनामा प्रदेशभर खाद्य बजार ३४, खाद्य उद्योग २९, दाना बजार दुई, दूध, तेल, पानी उत्पादन गर्ने उद्योग १९, होटल/रेष्टुरेन्ट, मीठाइ पसल ३३ गरी एक सय १४ वटा दैनिक उपभोग्य वस्तुको अनुगमन गरेको जनाएको छ ।

 

अनुगमनका क्रममा कार्यालयले रु. छ लाख ८५ हजार सात सय मूल्य बराबरको गैरखाद्य वस्तु जफत गरी नष्ट गरेको छ भने छ महिनामा रु. आठ लाख २० हजार दुई सय मूल्यको खाद्य नष्ट गरेको निमित्त प्रमुख थापाले बताए । कार्यालयले हालसम्म एक लाख ९२ हजार राजस्व सङ्कलन गरेको छ । प्रदेशभर हेर्ने जिम्मेवारी दिइएको भए पनि भौगोलिक विकटता, सीमित स्रोत साधन र कर्मचारी अभावका कारण काम गर्न चुनौती रहेको उनको भनाइ छ । रासस