☰ open Loading... 20 September 2024|  

अब सुर्खेतमै मृगौला प्रत्यारोपण
  | ११ माघ २०७९, बुधबार ०५:१३

सुर्खेत: कर्णाली प्रदेश अस्पतालले स्वास्थ्य उपचार सेवामा फड्को मारेको छ । अस्पतालले मानव अङ्ग प्रत्यारोपणजस्तो जटिल खालको स्वास्थ्य उपचार सेवा पनि दिने भएको छ । हाल मृगौलाका बिरामीहरूलाई डाइलासिस सेवा दिइरहेको अस्पतालले अब भने मृगौला प्रत्यारोपण सेवा नै दिने तयारी थालेको हो । अस्पताल प्रशासनका अनुसार आगामी शनिवारदेखि उक्त सेवा सुरु गरिनेछ । कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्मर खड्काले प्रदेशमै पहिलोपटक मृगौला प्रत्यारोपण सेवा सुुरु गर्न लागिएको बताए । मृगौलाको प्रत्यारोपण सुर्खेतबाटै हुने भएपछि बिरामीले सहजै उपचार पाउने र आर्थिक भारसमेत कम हुने अपेक्षा गरिएको खड्काले जनाए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र कर्णाली प्रदेश अस्पताल सुर्खेतको सहकार्यमा मृगौला प्रत्यारोपण सेवा दिने तयारी गरिएको छ । आउँदो शनिवार प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठसहितको टोलीले प्रदेश अस्पतालमा दुुई जनाको मृगौला प्रत्यारोपण गरेर सेवा सुरु गर्नेछन् । त्यसका लागि बिरामी भने कर्णाली बाहिरबाटै ल्याइने निर्देशक खड्काले बताए । उनका अनुसार उक्त दिन प्रत्यारोपण सेवा निःशुुल्क हुुनेछ । ती दुई जना मृगौलाका बिरामीको लागि उपचारमा लाग्ने शुल्क स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ब्यहोर्ने छ । प्रदेश अस्पतालले उक्त सेवा विस्तारका लागि लाइसेन्स प्राप्त गरिसकेको छ । स्वास्थ्य सेवा विभागबाट केही दिन पहिले आएको टोलीले मृगौला प्रत्यारोपण गर्न सकिने नसकिनेबारे अस्पतालको अवस्था अनुुगमन तथा निरीक्षण गरेको थियो । मृगौला प्रत्यारोपणका लागि स्वीकृति प्राप्त भएपछि सेवा सञ्चालन गर्ने तयारी भइरहेको अस्पताल प्रशासनले जनाएको हो । ‘मृगौलाका बिरामीले बाहिर गएर उपचार गर्नु पर्दा अनेकन झन्झटको सामना गर्नुपरिरहेको छ,’ खड्काले भने, ‘कम खर्चमा समयमै आफ्नै ठाउँमा बिरामीले सहज उपचार पाउन भन्ने उद्देश्यले सेवा सञ्चालन गर्न लागिएको हो ।’

प्रदेश अस्पतालले विशेषज्ञ सेवा दिन थालेपछि पछिल्ला वर्षहरूमा कर्णालीवासीलाई उपचारका लागि निकै सहज भएको छ । केही वर्ष पहिलेसम्म कर्णालीका बिरामी जटिल रोगको उपचारका लागि नेपालगञ्ज, काठमाडौं पुग्नुपर्ने बाध्यता थियो । अहिले सबैजसो उपचार सेवा यतै सम्भव भएपछि उक्त बाध्यता हटेको छ । कर्णाली सरकारको एकमात्र आफ्नो ठूलो स्वास्थ्य संरचना प्रदेश अस्पतालले सेवामा बढोत्तरी गर्दै लगेको हो । स्वास्थ्य क्षेत्रमा एकपछि अर्को सेवा थप्दै जाँदा नागरिकहरूको स्वास्थ्य सुरक्षाको अधिकार सुनिश्चित हुँदै गएको जनस्वास्थ्यका जानकारहरू बताउँछन् ।

प्रदेश अस्पतालले निकट भविष्यमै मुटु रोगको जटिल उपचार पनि थाल्ने जनाइएको छ । त्यसका लागि आवश्यक ‘क्याथ ल्याव’ स्थापनाको पहल भइरहेको निर्देशक खड्काले जानकारी दिए । यस्तै, अस्पतालले एमआरआइ मेसिन जडानका लागि प्रदेश सरकारसँग बजेट मागसमेत गरेको छ । टाउको, छाती, पेट, हाड तथा नसासँग सम्बन्धित रोगको उपचारमा एमआरआई सेवा महŒवपूर्ण मानिन्छ । एमआरआईबाट रोग पत्ता लगाई उपचारमा सहयोग पुग्ने चिकित्सकहरूको भनाइ छ । प्रदेश अस्पतालमा सेवा विस्तार र स्वास्थ्य उपकरण थप्नुका साथै भौतिक पूर्वाधारमा पनि जोड दिइएको छ । हाल दुई तलाबाट सञ्चालित अस्पतालको अबको केही दिनमा तेस्रो तला निर्माणका लागि टेण्डर हुँदैछ । अस्पताल भवनको तला थप्न एक अर्ब बजेट विनियोजन भएको निर्देशक खड्काले जनाए । निर्माण हुने सो तलाबाट अप्रेसन थिएटर, क्याविन र अस्पतालका विभिन्न विभागहरू सञ्चालन गरिनेछन् । आगामी दिनमा बाल अस्पतालको निर्माण र सञ्चालन गर्ने योजनासमेत बनाइएको अस्पताल प्रशासनले जनाएको छ ।

बिरामी अधिक, जनशक्ति अभाव

विशेषज्ञ सेवा दिन थालेपछि प्रदेश अस्पतालमा बिरामीको चाप थेगिनसक्नु छ । प्रभावकारी सेवा क्षेत्र विस्तार हँुुदा पहिलेको तुुलनामा बिरामीको चाप ह्वातै बढेको जनाइएको छ । अस्पतालले स्वास्थ्य बिमावापत पाइने विभिन्न सेवा पनि दिइरहेको छ । बिमामा उल्लेख भएका उपचार सेवा सहजै पाइने भएपछि बिरामीको आकर्षण बढेको हो । गतवर्षको तुुलनामा अस्पतालमा सेवा लिनेको संख्यामा वृद्धि भएको अस्पताल प्रशासनले जनाएको छ । गत आर्थिक वर्ष २०७८÷०७९ मा ४९ हजार चार सय ३० जनाले ओपिडी सेवा लिएकोमा चालुु आर्थिक वर्षको झन्डै ६ महिनामा ८४ हजार दुुइ सय ८८ जनाले सेवा लिइसकेका छन् । अस्पतालको विवरणअनुसार गत वर्ष १० हजार सात सय ४६ जनाले इण्डोर सेवा लिएका थिए । चालुु आर्थिक वर्षको यो अवधिमा ११ हजार आठ सय ९१ जनाले उक्त सेवा लिइसकेका छन् । त्यस्तै, गतवर्ष सात हजार दुई सय २६ जनाले इमरजेन्सी सेवा लिएकोमा यो वर्षको ६ महिनामा एक हजार आठ सय ८६ जनाले सेवा लिएको जनाइएको छ । अस्पतालका अनुसार सीटी स्क्यान, एक्स–रे युुएसजी, मेजर अप्रेशन, डेलिभरीलगायतका सेवा लिनेको संख्या प्रत्येक वर्ष बढ्दो छ ।

स्वास्थ्य उपचार सेवामा फड्को मार्दै गएको अस्पतालले जनशक्ति अभाव भने अहिले पनि झेलिरहेको छ । बिरामीको चाप अत्याधिक भएपनि सोही अनुपातमा स्वास्थ्यकर्मी भने छैनन् । जनशक्ति अभावले सेवा प्रवाहमा कठिनाइ भइरहेको निर्देशक खड्का बताउँछन् । अस्पतालमा विभिन्न तहका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी गरी दुुई सय ३९ जनाको दरबन्दी अझै रिक्त छ । कूल तीन सय २५ जनाको दरबन्दी रहेको अस्पतालमा ८६ जनाको मात्रै पदपूर्ति भएको छ । सेवा सञ्चालनका लागि अस्पतालले झन्डै तीन सय जना स्वास्थ्यकर्मीसहितका कर्मचारी करार लिएर सेवा प्रवाह गरिरहेको छ । अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव बढी रहेको जनाइएको छ । प्रदेश अस्पतालमा हाल अन्तरंग सेवाका लागि दुई सय ७५ र इमरजेन्सी सेवाका लागि २५ सैड्ढया सञ्चालनमा छन् ।साझा बिसौनीबाट ।