☰ open Loading... 19 September 2024|  

५ वर्षदेखि छैनन् डाक्टर प्राथमिक स्वास्थ्य केन्द्रमा
  | १९ माघ २०७९, बिहीबार ०५:१९

सल्यान : सल्यानको एउटा प्राथमिक स्वास्थ्य केन्द्र ५ वर्षदेखि डाक्टरविहीन बनेको छ।दरबन्दीमा रहेका डाक्टर बढुवा भएर गएपछि जिल्लाको छत्रेश्वरी गाउँपालिका-५ लेखपोखरामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र झण्डै ५ वर्षदेखि डाक्टरविहीन बनेको हो। डा. हेमराज शर्मा अध्ययन विदा सक्नासाथ बढुवा भएर गएपछि झण्डै ५ वर्षदेखि स्वास्थ्य केन्द्र डाक्टरविहीन बनेको हो।

प्राथमिक स्वास्थ्य केन्द्रमा १२ जनाको दरबन्दी छ। तर दरबन्दी र करार गरेर अहिले ७ जनामात्रै कार्यरत छन्। एमबिबिएस डाक्टर एकजनाको दरबन्दी छ केन्द्रमा। अहिले अहेव २ जना, करारसहित अनमी ३ जना र २ जना कार्यालय सहयोगी गरेर ७ जनामात्र कार्यरत रहेका छन्। यहाँ डाक्टर, हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, ल्याब असिस्टेन्ट लगायतका दरबन्दी रिक्त छन्।

दरबन्दीअनुसारको जनशक्ति नहुँदा स्थानीयहरू विशेषज्ञ सेवाबाट वञ्चित भएका छन्। स्वास्थ्य केन्द्रमा एक्स–रे लगायत मेसिन उपकरणहरू छन् तर जनशक्ति नहुँदा भएका उपकरण पनि सञ्चालन गर्न नसकिएको प्राथमिक स्वास्थ्य केन्द्रका निमित्त इन्चार्ज व‍ीरबहादुर वलीले जानकारी दिए।

उनले डाक्टरलगायतका अन्य जनशक्ति नहुँदा इमर्जेन्सी सेवा प्रदान गर्न पनि नसकिएको बताए। ‘हामीले सामान्य खालका रोगहरुको उपचार गर्ने हो तर जनशक्ति नहुँदा स्थानीयले स्तरीय स्वास्थ्य सेवा पाउन सकेका छैनन्। हामीले सक्ने उपचार सेवा दिँदै आएका छौं‚’ उनले भने।

प्राथमिक स्वास्थ्य केन्द्र ५ वर्षयता अहेब र अनमीकै भरमा चलेको छ। छत्रेश्वरी गाउँपालिकाको एकमात्र तीन शय्याको स्वास्थ्य केन्द्रमा पनि वर्षौंसम्म डाक्टर नआउँदा बिरामीलाई जिल्ला अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता रहेको उनको भनाई छ।