☰ open Loading... 7 September 2024|  

अटो दुर्घटना हुँदा एकको मृत्यु
  | २१ माघ २०७९, शनिबार ०५:१७

कालीकोट। तिलागुफा नगरपालिका ५ खल्लागाडमा अटो दुर्घटना हुँदा एकको मृत्यु भएको छ । शुक्रबार दिउँसो भएको दुर्घटनामा दुई जना घाइते भएका प्रहरीले जनाएको छ ।

 

हिमा गाउँबाट जुम्ला र कालीकोटको सिमाना नाग्म बजार हुँदै जुविथाको गाल्जे आउँदै गरेको भे १ ह ५९२२ नम्बरको अटो खल्लागाड मोडमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक (डिएसपी) जयश्वर रिमालले बताए ।

 

कर्णाली राजमार्गको जुविथा गाल्जे नाग्म सडकखण्डमा पर्ने खल्लागाड मोडमा अनियन्त्रित भई अटो दुर्घटना हुँदा जुम्ला हिमा ६ का ३५ वर्षीय विर्षबहादुर शाहीको मृत्यु भएको छ । प्रहरीकाअनुसार उनकी पत्नी २९ वर्षीया तारा शाही र ५ वर्षीय छोरा गौरव घाइते भएका छन् । घाइतेलाई थप उपचारका लागि जुम्लास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

 

शव पोस्टमार्टमका लागि जुम्ला पठाइएको प्रहरी नायव उपरीक्षक रिमालले बताए । अटो चालक जुम्ला हिमा ४ का ऐमान बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीव्रगतिका कारण मोडमा अटो पल्टिएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।