☰ open Loading... 18 October 2024|  

स्वास्थ्य चौकीको ड्रेन निर्माणमा बेवास्ता
  | २२ माघ २०७९, आईतवार ०५:०७

हुम्ला । हुम्लामा मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत निर्माण गर्दा भत्किएको स्वास्थ्य चौकीको पानी निकास हुने ड्रेनको अझै निर्माण हुन सकेको छैन । मुख्यमन्त्री रोजगार कार्यक्रम सम्पन्न भएर भुक्तानी लिइसक्दा पनि भत्किएको ड्रेनको निर्माण हुन सकेको छैन ।

 

हुम्लाको सिमकोट गाउँपालिका वडा ७ मा रहेको डाँडाफया स्वास्थ्य चौकीको घेरबार गर्दा ढुङ्गा खसेर भत्किएको पानी निकास हुने ड्रेन निर्माण नहुदा स्वास्थ्य चौकीमा समस्या हुदै आएको छ । पानी परेको समयमा अझ बढी समस्या हुने गरेको छ । करिब सात महिना बितिसक्दा पनि पानी निकास हने ड्रेनको निर्माण नभएर स्वास्थ्य चौकीको संरचना नै बिग्रिएको स्वास्थ्य चौकीका एक कर्मचारीले बताए ।

 

मुख्यमन्त्री रोजगरका उपभोक्ता समितिले घेरबारको काम सकेलगत्तै निर्माण गर्ने प्रतिबद्धता जनाए पनि अझै निर्माण भएको छैन । अहिले हिउँदमा स्वास्थ्य चौकीको छतको हिउँ पग्लिएर आएको पानी निकासा हुने ड्रेन नहुँदा जथाभावी पानी छरिएर जाँदा पर्खाल भत्किने सम्भावना बढेको स्वास्थ्य चौकी स्रोतले जनाएको छ । स्वास्थ्य चौकीको चारैतिरको पानी निकास हुने ड्रेन भत्किएको छ । तर उपभोक्ता समिति र सरोकारवाला निकायाले बेवास्ता गर्दै आएको छ ।