☰ open Loading... 19 September 2024|  

लाइसेन्सको पर्खाइमा ७ लाख सेवाग्राही
  | ३ फाल्गुन २०७९, बुधबार ०५:०७

काठमाडौं । सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ ढिलाइ गर्दा झन्डै सात लाख सेवाग्राही ‘स्मार्ट लाइसेन्स’बाट वञ्चित छन् । छपाइ मेसिन र जनशक्ति अभावका कारण यातायात व्यवस्था विभागले ७ लाखभन्दा बढी ‘स्मार्ट लाइसेन्स’ छपाइ गर्न बाँकी नै छ । ढिलाइकै कारण सेवाग्राही अनावश्यक झन्झट बेहोर्नसमेत बाध्य छन् ।

नवीकरण तथा लाइसेन्स ट्रायल उत्तीर्ण सेवाग्राहीले वर्ष दिनभन्दा बढी समयदेखि ‘स्मार्ट लाइसेन्स’ पाउन सकिरहेका छैनन् । सन् २०२२ सुरुदेखि नै नयाँ तथा नवीकरण ‘स्मार्ट लाइसेन्स’ आवेदन दिएका करिब ७ लाख सेवाग्राहीले लाइसेन्स पाएका छैनन् । हाल दैनिक २ हजारको संख्यामा लाइसेन्स प्रिन्ट हुन नसकेर थन्किने गरेको छ ।

चालू वर्ष छापियो १५ लाख

विभागका अनुसार दैनिक ४ हजार लाइसेन्स प्रिन्ट गर्ने क्षमता रहेकोमा हाल ६ हजार आवेदन आउने गरेका छन् । त्यसमाथि पुरानो लाइसेन्स नै छपाइ गर्न बाँकी छ ।

अत्यावश्यक तथा विदेश जानेका लागि भने अनलाइन फारम भराएर प्रक्रियाअनुसार करिब एक साताभित्रै ‘स्मार्ट लाइसेन्स’ दिइने गरिएको छ । विदेश जानेका लागि टिकट र भिसाका आधारमा विभागले लाइसेन्स उपलब्ध गराउने गरेको हो ।

सामान्य अवस्थामा नवीकरण तथा ट्रायल पास गरेका सेवाग्राहीले भने लाइसेन्स पाउन वर्ष दिनभन्दा बढी कुर्नुपर्ने बाध्यता छ । छपाइ मेसिनको क्षमता कम भएका कारण सबै लाइसेन्स प्रिन्ट गरेर समयमै सेवा दिन नसकेको जनाइएको छ ।

लामो समयदेखि प्रिन्ट गर्न बाँकी लाइसेन्स समस्या हल गर्ने मेसिन खरिद प्रक्रिया भने अघि बढाइएको छ । छपाइ मेसिन खरिदका लागि बोलपत्र प्रक्रिया अघि बढिसकेको विभागले जनाएको छ ।

चालू वर्ष साढे १५ लाख छपाइ
सरकारले आर्थिक वर्ष २०७९-८० मा करिब १५ लाख ‘स्मार्ट लाइसेन्स’ छपाइ गरेको जनाएको छ । विभागका अनुसार आर्थिक वर्षमा १५ लाख ७ हजार स्मार्ट लाइसेन्स छपाइ भएको हो । चालू आर्थिक वर्षमा ३९ लाख २ हजार ‘स्मार्ट लाइसेन्स’ छपाइ गर्ने तयारी गरेको छ ।