☰ open Loading... 19 September 2024|  

नयाँ सरकारपछि सुस्तायो कर्णाली प्रदेश सभा
  | ५ फाल्गुन २०७९, शुक्रबार ०५:०८

सुर्खेत । कर्णालीमा नयाँ सरकार गठन भएको झण्डै दुई महिना पुगिसक्दा पनि प्रदेशसभा बैठक अझै बस्न सकेको छैन ।

 

प्रदेश सभाको दोस्रो कार्यकाल शुरु भए यता ६ वटा बैठक बसेको छ । बैठकबाट मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव पारित, सभामुख र उपसभामुख निर्वाचन र मन्त्रीहरू चुन्ने काम मात्र भएको छ । अब प्रदेशसभा बैठकमा कस्ता विषयले प्राथमिकता पाउँछ भन्ने सबैको चासोको विषय बनेको छ ।

 

तर प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा गृह जिल्ला रुकुम पश्चिममा भेटघाट कार्यक्रममा व्यस्त छन् । त्यस्तै प्रदेशसभा सचिवदेखि सदस्यहरु पनि सुर्खेत बाहेक अन्य जिल्लामा व्यस्त भएका छन् । पहिलो कार्यकाल सकिएसँगै उक्त कार्यकालमा दर्ता भएका विधेयकहरू निष्क्रिय भइसकेका छन् ।

 

त्यसैगरी सरकारले नयाँ विधेयक बनाएर संसदलाई टेबुल गर्न सकेको छैन । प्रदेशसभामा विधायन समिति, सार्वजनिक लेखा समिति, अर्थ तथा विकास समिति र प्रदेश मामिला समिति छन् । प्रदेशसभामा ती समितिहरू गठन हुन बाँकी रहेका छन् । कर्णाली प्रदेशसभाका सचिव जिवराज बुढाथोकीले सरकारले विजनेस नल्याएका कारण संसद बैठक सञ्चालन नभएको जानकारी गराए । ‘सरकार निर्माण भयो पदीय जिम्मेवारी विभाजन भयो तर सरकारले विजनेस ल्याएको छैन जसका कारण संसद बैठक अवरुद्ध भएको छ’ बुढाथोकीले भने ।

 

यता सभामुख नन्दा गुरुङलाई यस विषयमा बुझ्न खोज्दा आफु कार्यक्रममा व्यस्त भएको बताइन् । फागुनको पहिलो सातादेखि संसद् नियमित गर्ने गरी तयारी भईरहेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले बताए । संसदीय समिति गठनका लागि राजनीतिक सहमति पनि जुटाउनुपर्ने भएकाले केही दिनभित्रैबाट त्यस विषयमा छलफल अघि बढ्ने जिसीको भनाइ छ ।

 

यसअघि माघ ६ गते बसको कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको छेटौं बैठकबाट सभामुख गुरुङले अर्काे सूचना नआएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएकी थिइन् ।