हुम्ला । जिल्ला अदालत हुम्लाले हालसम्म १४ वटा मुद्दा फर्छ्याैट गरेको जनाएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा श्रेस्तेदार कमलकुमार आचार्यले हाल अदालतमा ५८ वटा मुद्दा मात्र विचाराधीन रहेको भन्दै तीमध्ये ४० वटा मुद्दाको पेशी तोकिएको बताए ।
यस्तै उनले बाँकी १८ वटा मुद्दाको प्रक्रिया अगाडि बढाएर पेसी तोक्ने कार्य पनि चाँडै तोकिने बताए । यस वर्ष अघिल्लो वर्षबाट सरेका र यस वर्ष दर्ता भएका गरी ७२ वटा मुद्दा मात्र अदालतमा विचाराधीन थिए ।
तीमध्ये चैत ५ गतेसम्म १४ वटा मुद्दाको फर्छ्याैट भइसकेको बताए । पत्रकार सम्मेलनमा न्यायाधीश दिलप्रसाद पौडेलले हुम्ला भूगोलले ठूलो जिल्ला रहेको भन्दै मुद्दा, मामिला आइरहने हुँदा पत्रकारले पीडित र पीडकको सत्य तथ्य लेख्न आवश्यक रहेको बताए । त्यस्तै ठूला–ठूला मुद्दा पनि गाउँ घरमा मिलाउने प्रवृत्ति रहेको भन्दै उनले पीडित र पीडकका बीचमा प्रभावमा पर्दा समस्या हुने गरेको बताए ।
त्यस्तै प्रक्रिया मिलाउनुपर्ने बाहेक अन्य सबै खाले मुद्दालाई किनारा लगाउने गरी काम गर्न उनले कर्मचारीलाई निर्देशन समेत दिए । वैतनिक वकिल राजन चन्दले महिला बढी पीडित हुने भन्दै हुम्लामा हरेक महिला महिलामा न्याय दिनेतर्फ लागिरहेको बताइन् । पत्रकार महासंघ जिल्ला अध्यक्ष राजन रावतले आफूहरुले न्यायको पक्षमा कलम चलाउने बताए ।