☰ open Loading... 16 September 2024|  

कर्णालीमा सधैं पाठ्यपुस्तककै पिरलो
  | २० चैत्र २०७९, सोमबार ०५:२९

सुर्खेत, १९ चैत । कर्णालीको दुर्गम भेगका सामुदायिक विद्यालयका विद्यार्थीको वार्षिक परीक्षा सकिएर नयाँ शैक्षिक सत्र सुरु भएको डेढ महिना नाघिसक्यो। तर उनीहरू विगतमा जस्तै पाठ्यपुस्तककै पिरलोमा छन्। हातमा अझै पाठ्यपुस्तक नपर्दा र पाठ्यपुस्तक आइपुग्ने ठेगानसमेत नहुँदा उनीहरूको पढाइ प्रभावित भएको छ। दुर्गम जिल्लामा हरेक वर्ष फागुनदेखि नयाँ शैक्षिक सत्र सुरु हुन्छ। नयाँ शैक्षिक सत्रका लागि कक्षा १० सम्म पढिरहेका विद्यार्थीलाई त पाठ्यपुस्तक अभाव छ नै, अहिले एसइई दिँदै गरेका विद्यार्थीसमेत पाठ्यपुस्तक नपढीकनै जाँच दिन बाध्य छन्। यहाँका विद्यार्थीमा पाठ्यपुस्तक पाउन नसकेको गुनासो सधैं रहने गरेको छ।

कर्णालीको विकट पहाडी जिल्ला कालिकोटका धेरै विद्यालयका विद्यार्थी पाठ्यपुस्तकविहीन छन्। कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–३ स्थित विद्याज्योति माध्यमिक विद्यालय कक्षा ८ का विद्यार्थीसम्म नेपाली र स्वास्थ्य विषयको पुस्तक पुगेको छैन। खाँडाचक्र नगरपालिका–३ ताडीको जनजीवन माविमा पनि केही पुस्तक पुगेको छैन। यस्तै पलाँता गाउँपालिकाका सामुदायिक विद्यालयले पनि पुस्तक अभाव झेलिरहेको छ।

सान्नीत्रिवेणीको विद्याज्योतिकी छात्रा आशा गिरीले पाठ्यपुस्तकबिनै परीक्षा दिनुपर्ने बाध्यतामा आफू रहेको बताइन्। उनी माध्यमिक तहमा अध्ययनरत छिन्। ‘न समयमा किताब पाउँछौं न विद्यालयमा सिकाइ गतिविधिका लागि पर्याप्त सामग्री नै छन्,’ उनी भन्छिन्।

पाठ्यपुस्तक, भौतिक संरचना र शिक्षक अभाव जस्ता कारणले आफूहरूको सिकाइ प्रभावकारी बन्न नसकेको उनी सुनाउँछिन्। पलाँता गाउँपालिकाका विद्यार्थीहरूको गुनासो पनि आशाको भन्दा भिन्न छैन। ‘यो वर्षको वार्षिक परीक्षा किताब नपढी सकियो। अब अर्को वर्षका लागि यस्तै पिरलो नहोस् भन्ने चाहेका छौं,’ पलाँताका एक छात्रले भने, ‘हामीले सबै विषयका पुस्तक समयमै पाउनुपर्ने माग त गरेका छौं तर कहिले हात पर्ने हो, कुनै ठेगान छैन।’

खाँडाचक्र–३ स्थित जनज्योति माविमा पनि पाठ्यपुस्तक अझै नपाएको विद्यार्थीको गुनासो छ। यस्तै शुभकालिका गाउँपालिका र महावै गाउँपालिकाका केही विद्यालयमा पनि पुस्तकको अभाव छ। जिल्लाका सामुदायिक विद्यालयमा समयमै सबै विषयका पाठ्यपुस्तक नपुग्दा सिकाइ गतिविधि नै प्रभावित भएको  छ ।