☰ open Loading... 16 September 2024|  

बर्सेनि महको उत्पादन घट्दो, मूल्य भने बढ्दो
  | २९ चैत्र २०७९, बुधबार ०५:०८

जुम्ला । जुम्लामा बर्सेनि महको उत्पादन घट्दै गएको छ । महको मूल्य बढ्दै जाँदा उत्पादन भने बर्सेनि घट्दै जान थालेको छ । चरन क्षेत्र अभाव, बालीनालीमा विषादी प्रयोग, जलवायु परिवर्तनको प्रभाव लगायतका कारण बर्सेनि महको उत्पादन घट्दै गएको किसानहरूको भनाइ छ । चरन क्षेत्रको अभाव हुँदै जानु र साउनमा लगातार वर्षा हुँदा मह उत्पादनमा निकै कमी आएको तातोपानी गाउँपालिका ६ जयकृष्ण रावतले बताए ।

 

महको उत्पादन घट्दा मूल्य भने राम्रो पाइरहेको उनको भनाई छ । गत वर्ष प्रतिकिलो १ हजार देखि १५ सयसम्म बिक्री भएको मह यस वर्ष २७ सय रुपैयाँ सम्म बिक्री भएको उनको भनाई छ । कात्तिके मह औषधीका लागि गुणयुक्त हुने भएकाले पनि कात्तिके महको माग बजारमा धेरै हुने गरेको रावतको भनाइ छ ।

 

चन्दननाथ ३ का मौरी किसान धनजित बुढाले महको मूल्य आकासिय पनि मह उत्पादनमा कमी आएको बताए । आफ्नो मौरी पालन व्यवसायमा आएको समस्याले गर्दा मौरीहरु अहिले मर्दै गएकोले मह उत्पादन पनि घट्दै गएको उनको भनाइ छ । पहिले ३८ वटा मौरीका घार थिए । अहिले मौरी मर्दै जाँदा २५ वटा घार मात्र बाँकी रहेको उनले बताए । मौरीको उचित आहारा, रोगव्याधिका कारणले गर्दा मौरी मर्ने क्रममा वृद्धि हुँर्दै जाँदा मह उत्पादनमा कमी आएको हो । जेठ महिना देखि अहिले सम्म मौरी मर्दै गएको बताइएको छ ।

 

त्यस्तै अर्का मौरी किसान रामकृष्ण बुढथापाले जुम्लामा मौरी पालन व्यवसायको सम्भावना धेरै भएपनि मौरीमा रोग लाग्दा मौरी सम्बन्धी विशेषज्ञ डाक्टर नभएका कारणले पनि मौरी मर्ने समस्या बढ्दै गएको बताए । त्यसले गर्दा महको माग बढे पनि उत्पादनमा कमी हँुदै गएको छ । मौरी पालनमा राम्रो अनुभव बटुलेका किसान बुढथापाले मौरी विज्ञको अभावले पनि  किसानहरु मर्कामा परेको बताए । कृषि र अन्य विषय सम्बन्धी स्थानीय तहमा जेटिए भएपनि मौरी सम्बन्धी जेटिए नै नभएको बताएका छन् । कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकारी शेर बहादुर भण्डारीले कृषि विकास कार्यालयको पहलमा मौरीमा लागेको रोग पहिचान गरी संक्रमित मौरी संकलन गरी ल्याव टेष्ट गर्न लागेको उनले बताए ।

 

भाइरस र व्याक्टेरिया पनि हुन सक्ने उनले बताएका छन् । यसका लागि आफुहरु लागि परेको उनले बताएका छन् । जुम्लामा यो वर्ष कति मह उत्पादन भयो भनेर डाटा संकलन भइरहेको बताउँदै कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकारी भण्डारीले यो वर्ष विगतका वर्षको तुलनामा महको उत्पादन घटेको अनुमान गरिएको बताए ।