☰ open Loading... 20 September 2024|  

ब्यत्तिगत घटना दर्तालाई प्रभावकारी बनाउँन आग्रह
  | १ बैशाख २०८०, शुक्रबार ०५:२५

दैलेख  : वैशाख १ गतेदेखि ७ गतेसम्म सरकारले सञ्चालन गर्न लागेको व्यक्तिगत घटना दर्ता सप्ताहलाई प्रभावकारी बनाउँन सरोकारवाला निकायले माग गरेका छन । बिहीवार दैलेख सदरमुकाममा इन्सेक नेपाल र सोसेक नेपालले विहीवार आयोजना गरेको व्यक्तिगत घटना दर्ता सप्ताह प्रभावकारी सम्बन्धी अन्तरक्रियामा सहभागीहरुले उक्त माग गरेका हुन ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यलयका प्रशासकीय अधिकृत भुपेन्द्र थापाले पञ्जिकरणको अधिकार स्थानीय तह वा सम्बन्धित निकायलाई भएको बताउँदै पञ्जिकाधिकारीले समन्वयकारी भूमिका नखेलेको कारणले आवश्यक परेकाहरुले बालबालिकाको जन्मदर्ता, उमेर पुगेकाहरुको विवाह दर्ता नपाएका घटनाहरु आउने गरेको बताए ।
मानव अधिकार रक्षक सञ्जालका जिल्ला संयोजक विशाल सुनारले ३५ वर्षदेखि ठाँटीगाउँपालिका–३ भुआखाडामा बस्तै आएका चन्द्रबहादुर शेर्पाले त्यही गगनी बिकसंग विवाह गरेका तर दम्पतिको नागरिकता र ६ सन्तानको जन्मदर्ता नपाएको बताए । उनले स्थानीयहरुको सहजीकरणमा बनेको गगनीका दुई छोराछोरीको जन्मदर्ता पनि वडासचिव गोरखबहादुर शाहीले च्यातिदिएपछि अव गगनीको दम्पतिको नागरिकता र छोराछोरीको जन्मदर्ता बन्ने आशा मरिसकेको बताए ।
सोसेक नेपालको बाल हेल्पलाइनका संयोजक रमा श्रेष्ठले बालविवाहका कारण विवाह गरेका महिलाहरुले विवाह दर्ता बनाउन नपाएका र उनीहरुका सन्तानहरुको जन्मदर्तामा समेत समस्या आएको, विवाहदर्ता नहुँदा महिलाहरुले समूहमा बस्न वा सेवा सुविधा लिन समेत समस्या पर्ने गरेको बताइन । इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले अदालतबाट फैसला भइसकेका नाता कायम र बलात्कार घटना, बालविवाह र बहुविवाहबाट जन्मेका बालबालिकाहरुलाई जन्मदर्ता गराउन सकिने कानूनी व्यवस्था भए पनि स्थानीय तहहरुले जन्मदर्ता गराउन असहयोग गरेको बताए ।
महिला सशक्तिकरण मञ्चका उपाध्यक्ष सबिना बिकले बालबालिकाको जन्मदर्ता र उमेर पुगेर गरेको विवाहमा पनि महिलाहरुको विवाहदर्ता नपाएका धेरै घटना भएको कारण व्यक्तिगत घटना दर्ता सप्ताहको समयमा उनीहरुको सहजता निम्ति पहल गरिनुपर्ने सुझाव दिइन ।
नारायण नगरपालिका वडा नं. १ का वडासचिव गोपाल श्रेष्ठले पञ्जिकरणका काम नियमित रुपमा भइरहेका र व्यक्तिगत घटना दर्ता सप्ताहको प्रभावकारी बनाउन आफूहरु जुटेको बताउदै सेवाग्राहीहरुले आवश्यक कागज प्रमाण जुटाउन नसकेर कामहरु रोकिने गरेको बताए ।
वडासचिव श्रेष्ठले भने विवाह दर्ता गराउँदा दुलाहा र दुलही दुवै जना नागरिकता साथमा लिई वडा कार्यालयमा स्वयम् उपस्थित हुनुपर्छ । जन्मदर्ता, मृत्यू दर्ता वा बसाईसराई गराउन नागरिकता लिइसकेका परिवारका सदस्यहरु सूचक हुनुपर्ने भएकोले रित नपुगेकोहरुको काम रोकिने गरेको बताए ।
आठ वर्ष अघि संयुक्त राष्ट्रसंघको ६९ औं महासभामा नेपालले विक्रम सम्वत् २०८० सम्म व्यक्तिगत घटना दर्ता सतप्रतिशत प¥याउने प्रतिवद्धता जनाए अनुसार लक्ष्य हासिल गर्न अभियान चलाउन लागिएको हो । यो वर्ष लक्ष्य प्राप्तीका लागि अभियान प्रभाकारी बनाउन सरोकारवालाले ध्यान दिनुपर्ने राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका निर्देशक नवराज जैसीले बताए ।