☰ open Loading... 16 November 2024|  

तनहुँ-१ मा स्वर्णिम वाग्ले दोब्बरभन्दा बढी मतले अगाडि
  | ११ बैशाख २०८०, सोमबार ०५:२९

काठमाडौं। तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्लेले दोब्बर भन्दा बढी मतले अग्रता लिएका छन्।

७ हजार ६८३ मत गन्दा रास्वपाका वाग्लेले दोब्बर भन्दा बढी मतले अग्रता हासिल गरिरहेका छन्। उनले ४ हजार ३०३ मत प्राप्त गरेका छन्।

उनलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले १ हजार ९३३ मत ल्याएर पछ्याइरहेका छन् भने नेकपा एमालेका सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन्। खनालले १ हजार १९८ मत पाएका छन्।

यस क्षेत्रमा एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेकामा ५२ प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन क्षेत्रमा व्यास नगरपालिकाका ५ र ६ बाहेक १२ वडा, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका र भानु नगरपालिका पर्दछ।

भानु नगरपालिकाका १३ वडामा ४० हजार आठ सय ४४ मतदाता छन्। भानुमा २१ मतदानस्थल र ५० मतदान केन्द्र रहेका छन्। त्यस्तै कम मतदाता देवघाट गाउँपालिकामा रहेको कार्यालयले जनाएको छ।

देवघाटका पाँच वडामा १२ हजार सात सय १२ मतदाता छन्। देवघाटमा आठ मतदानस्थल र १५ मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ।

त्यस्तै आँबुखैरेनी गाउँपालिकाका छ वडामा १३ हजार छ सय २२ मतदाता कायम भएका छन्। आँबुखैरेनीमा नौ मतदानस्थल र १७ मतदान केन्द्र छन्। बन्दीपुर गाउँपालिकाका छ वडामा १५ हजार छ सय ७८ मतदाता कायम भएका छन्। बन्दीपुरमा ११ मतदानस्थल र२२ मतदान केन्द्र छन्।

व्यास नगरपालिकाका वडा नम्बर ५ र ६ बाहेकका १२ वडामा ४० हजार चार सय ४९ मतदाता छन्। व्यासमा २० मतदानस्थल र ४८ मतदान केन्द्र छन्।

तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त ठाउँमा उपनिर्वाचन गरिएको हो।

उपनिर्वाचनका लागि नेपाली काङ्ग्रेसबाट गोविन्द भट्टराई, नेकपा (एमाले) बाट सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा स्वर्णिम वाग्ले, राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मङ्गोल नेशनल अर्गनाइजेशनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादीबाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार चुनावी मैदानमा छन् ।