सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत लिने भएका छन् । शर्माले आइतबार विश्वासको मत लिनका लागि प्रदेश सभा सचिवालयलाई पत्र समेत बुझाएका छन् । प्रदेशसभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीका अनुसार शर्माले १५ गते शुक्रबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिने गरी पत्र दर्ता गराएका हुन् ।
‘विश्वासको मत लिन भनेर मुख्यमन्त्रीज्यूले आज पत्र दर्ता गराउनुभएको छ सचिव बुढाथोकीले भने, वैशाख १५ गते अपराह्न ३ बजे बस्ने प्रदेश सभा बैठकबाट विश्वासको मत लिने गरि तयारी थालेका छौं । मुख्यमन्त्री शर्माले सरकारको नेतृत्व गरेको तीन महिनामा तेस्रो पटक प्रदेश सभाबाट विश्वासको मत लिन लागेका छन् । शर्माले यसअघि दुई पटक विश्वासको मत लिइसकेका छन् । पहिलो पटक ६ माघमा विश्वासको मत लिएका उनले १७ चैत्रमा दोस्रो पटक विश्वासको मत लिएका थिए ।