☰ open Loading... 20 September 2024|  

४ सय ८० विद्यार्थीको हात्तीपाइले रोग परीक्षण
  | २२ बैशाख २०८०, शुक्रबार ०५:३०

जुम्ला : जुम्लाका ३२ सामुदायिक विद्यालयका ४ सय ८० जनाको हात्तीपाइले रोग परीक्षण गरिएको छ । जुम्लाका आठ वटा स्थानीय तहमा रहेका ३२ सामुदायिक विद्यालयका ४ सय ८० जनाको हात्तीपाइले रोग परीक्षण गरिएको हो ।

 

४ सय ८० जना बालबालिकाको रगत परीक्षण गर्दा सबै जनाको रिपोर्ट नेगेटिभ देखिएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार जुम्लामा हात्तीपाइले रोग भए-नभएको पत्ता लगाउन नमुना परीक्षण गरिएको हो ।

 

चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतका अनुसार नगरपालिकाभित्र ५ वटा सामुदायिक विद्यालयका ८० जना बालबालिकालाई हात्तीपाइले रोग परीक्षण गरिएको छ । परीक्षण गरिएका कुनै पनि बालबालिकामा हात्तीपाइले रोग नदेखिएको उनले बताए ।

 

जलवायु परिवर्तनसँगै हिमालको तापक्रम बढ्दै गएका कारण उच्च हिमाली जिल्लाहरुमा लामखुट्टे भेटिन थालेपछि हात्तीपाइले, औलो र कालाजारका बिरामी भए-नभएको थाहा पाउन नमुना परीक्षण गरिएको हो ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा, मकवानपुरले राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत जुम्लामा पनि परीक्षण गरेको हो ।