☰ open Loading... 19 September 2024|  

हुम्लामा छ दिनपछि हवाई सेवा सुचारु
  | २४ बैशाख २०८०, आईतवार ०५:२९

हुम्ला । निरन्तर मौसम खराब भएपछि गत आइतबारबाट बन्द भएको नेपालगञ्ज–हुम्लाको हवाई सेवा शुक्रबारबाट सञ्चालनमा आएको छ । गत शनिबार रातिदेखि वर्षाका कारण मौसम खराब हुँदा नेपालगञ्जबाट हुम्लाका लागि हुने हवाई सेवा अवरुद्ध हुँदै आएको थियो ।

शुक्रबार मौसम खुलेपछि हवाई उडान सुरु गरिएको नागरिक उड्डयन प्राधिकरण सिमकोटका प्रबन्धक मोहन गिरीले बताउनुभयो । गत शनिबारबाट मौसममा आएको खराबीले गर्दा दुर्गम पहाडी जिल्लाहरू हुम्ला र मुगुमा उडान बन्द रहेकोमा शुक्रबारबाट हुम्लाको उडान सुचारु भए पनि मुगुको रारामा अझै सुचारु हुन सकेको छैन ।

हुम्लाका लागि समिट एयरले उडान सुचारु गरेपछि नेपालगञ्जमा अलपत्र परेका यात्रु गन्तव्यतर्फ जान थालेको र उताबाट पनि यात्रु यता जान पाउनुभएको छ । शुक्रबार समिट एयरले नेपालगञ्जबाट दुई र सुर्खेतबाट एक उडान भरेको थियो । छ दिनसम्म हवाई उडान नहुँदा करिब दुई सय यात्रु नेपालगञ्जमा अलपत्र पर्नुभएको थियो । तीमध्ये केही शुक्रबार उडेका छन् भने अरू क्रमशः आउन पाउने छन् । उडान नहुँदा विशेष गरी उपचारका लागि नेपालगञ्ज आउने बिरामीलाई समस्या हुने गरेकोमा उडान सुचारु भएपछि बिरामीलाई सहज भएको छ ।