जुम्ला । जुम्लाको त्रिवेणीबाट पूर्व १० किलोमिटरको दूरीमा रहेको सर्मी गाउँछेउको साङ्लीपाटा पुगेपछि देखिन्छ एउटा सानो चिटिक्क परेको घर । भर्खरै बनेको नयाँ घरमा मुस्कुराइरहेका छन्, दृष्टिविहीन दम्पती गोरिकला तिरुवा र मानबहादुर कुँवर ।
धेरै भएको छैन उनीहरू भोटानचौरबाट सरेर यहाँ आएको । अरूकै सहारामा बाँचेका यी दम्पती यस वर्षबाट आफ्नै घरको छानामुनि बस्न पाउँदा दंग छन् । घर बन्नु अघिसम्म यिनीहरू गाउँभन्दा ३ किलोमिटर पर एकान्त क्षेत्र भोटानचौरमा गाउँलेको घरमा बसिरहेका थिए । कयौं रात भोकै सुतेका र अपमान सहेका दिन उनीहरूको मस्तिष्कमा ताजै छ । चार वर्षअघि मात्रै अन्तरजातीय विवाह गर्दा झन्डै गाउँबाटै निकालिनुपरेको थियो । नयाँ घरसँगै अहिले उनीहरूको जीवन पनि पे्रमले उज्यालिएको छ । जातीय विभेदको जालो तोडेको योगदान कुनै दिन त मूल्यांकन होला नि भन्दै गोरिकला भन्छिन्, ‘आफ्नै घरमा मर्ने धोको पूरा भएको छ, वडा कार्यालयले संरक्षण गरेकामा खुसी छौं ।’ तातोपानी गाउँपालिका वडा नम्वर ७ ले उनीहरूका लागि आधारभूत सुविधासहितको आवास निर्माण गरिदिएको हो ।
२ लाख लागतमा खानेपानी धारा, शौचालयसहितको दुईकोठे घर निर्माण गरिएको तातोपानी–७ का अध्यक्ष तिलक रावतले बताए । ‘सामाजिक सुरक्षा भत्ताको सहारामा बाँचेका यी दम्पतीले निकै कष्ट सहेकाले आवासको व्यवस्था गरिदिएको अध्यक्ष रावतको भनाइ छ । ‘हिमपात हुँदा र बर्खाको समयमा उनीहरू कष्ट सहन बाध्य थिए,’ रावतले भने
जातीय विभेदविरुद्ध उभिएको जोडी
पुर्खाले जग बसाएको छुवाछूतको छानामुनि जातीय विभेदको जालो तोडेर अन्तरजातीय विवाहलाई स्थापित गर्नु ‘फलामको चिउरा चपाउनु’सरह थियो । अहिले ३४औं वसन्तमा प्रवेश गरेका दृष्टिविहीन मानबहादुर कुँवरले बाल्यकालमै आमाबुबा गुमाए । दुई वर्षको उमेरमा दुवै आँखाको ज्योति गुमाएका उनले तेस्रो आँखा अर्थात् ‘शिक्षाको आँखा’ले दुनियाँ नियाल्ने रहर गरे । २०६० सालमा सिञ्जामा रहेको भैरव माध्यमिक विद्यालयमा भर्ना भएर उनले पढाइ सुरु गरे । तर, ७ कक्षामा पुगेपछि औपचारिक शिक्षा आर्जनमा पूर्णविराम लाग्यो । जन्मघर सर्मीबाट धेरै टाढा छ, सिञ्जा नराकोटको भैरव मावि । त्यतिबेला अहिलेको जस्तो सवारी सुविधा पनि थिएन । घरबाट नराकोट पु¥याउने कोही भएनन् । ‘दृष्टिविहीन हुनुको पीडाबोध त्यतिबेला भयो, जतिबेला एक दिनको बाटो हिँड्न नसकेर पढाइ छाडें,’ मानबहादुरले भने ।
घरमा एक्लो भएपछि मानबहादुर छिमेकी गाउँ ताम्तीमा गएर दिदीको घरमा बस्नथाले । बिनाकाम दिदीको घरमा बस्न अप्ठ्यारो महसुस हुन थालेपछि उनले झन्डै ३ सय घरधुरी रहेको ताम्ती गाउँको तिर्खा मेटाउने जिम्मेवारी पाए । गाउँमा चारवटा पानीका धारा खोल्ने र बन्द गर्ने ‘चौकिदार’ बने उनी । चौकिदारी गरेबापत वर्षमा चार क्वीन्टल अन्न पाउन थाले । जीन्दगी जसोतसो चलिरहेको थियो । गाउँमा मानवीय संवेदना नबुझ्नेका लागि मानबहादुर मजाकको पात्र बन्न पुगे । ‘गिज्याउनेहरूको भीडमा अपमानित महसुस हुन थालेपछि ताम्तीगाउँ छोड्न मन लाग्यो,’ मानबहादुरले भने, ‘कस्तो जीन्दगी न समुद्रमा डुब्न सकियो, न किनारा नै लाग्न सक्यो ।’ अहिले पनि मानबहादुर तीतो विगत सम्झँदै मनको आधा झन्डा झुकाउँछन् ।
तीन वर्षअघि उनले तिला–३ दानीबाडामा अन्तरजातिय विवाह गरे । रूढीवादी समाजले कथित दलितसँग विवाह गरेको भन्दै मानबहादुरलाई गाली गर्न थालियो । ‘सुरुमा क्षत्रीको छोराले किन दलितसँग विवाह गरेको ? भनेर आलोचना गरे, अहिले विस्तारै विभेदको जालो तोडिँदै गएको छ,’ मानबहादुरले भने, ‘अरू आँखाले देख्छन्, हामी मनले देख्छौं, सबैको अधिकार र कर्तव्य समान हुन्छ, हाम्रो मनले यही देख्छ ।’ उनले जातीय विभेदको परम्परा भत्काएको भन्दै अहिले यही समाजले आफूहरूको योगदानलाई स्वीकार गरेको बताए ।