☰ open Loading... 19 September 2024|  

एक वर्षमै भत्कियो विद्यालयको ढलान
  | २७ बैशाख २०८०, बुधबार ०५:२९

दैलेख बजारस्थित त्रिभुवन उच्च माध्यमिक विद्यालयको भवन ढलान गरेको वर्ष दिनभित्रै पुन: फोडेर ढलान गरिएको छ।

डिपिआरमा कमजोरी र प्राविधिकले स्टेटमेन्ट नसच्चाउँदा पहिलो तला ढलान वर्ष दिन नपुग्दै चर्किएर लच्किएपछि पहिलो तलाको पुरै ढलान फोडेर नयाँ ढलान गर्न लागिएको हो।

नमुना विद्यालय विकास गर्नका लागि भौतिक संरचना निर्माणका लागि संघिय अनुदान मार्फत नारायण नगरपालिकाका प्राविधिकहरूले हेरेका थिए।

‘डिपिआरमा विम नभए पनि प्राविधिकले सच्चाएर बनाउन सक्थे।’ अहिले प्रत्येक कोठा फोडेर विम राखेर धमाधम ढलान गरिएको छ। प्रधानाध्यापक निरक तारामीले भने, डिपिआर अनुसार नै विम नराखेर ढलान गरियो। लामो भएकाले लोड धान्न नसक्दा चर्किएर लच्किएको हो।’

हचुवाको भरमा नगरका प्राविधिकले बनाउन स्वीकृति दिँदा पहिलो तलाको भवनको ढलान फेरी गर्नुपरेको अभिभावकहरु बताउँछन्।

प्राविधिक कमजोरी भएर ढलान कमजोर भएपछि भत्काएर फेरी नयाँ स्टेटमेन्ट गरेर विम सहित बनाईएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूजा श्रेष्ठले बत्ताइन्।

‘टेण्डर गर्दा नै प्राविधिकले विम राखेर स्टेटमेन्ट गर्न सक्र्थे।’ अध्यक्ष श्रेष्ठले भनिन्  ‘प्राविधिक कमजोरीका कारण ढलान फेरी गरियो। अहिले विद्यालयले आफ्नै प्राविधिक राखेको छ।’ 

नगरपालिका मार्फत ४ कोठाको पहिलो तलाको लागि १ करोड ४३ लाखमा टेण्डर गरेकोमा ठेकेदारले ८५ लाख कंवोल गरेको थियो।

प्राविधिक स्टेटमेन्ट अनुसार ठेकेदार कम्पनीले भवन बनाएको र भवन निर्माणमा तोकेअनुसार गुणस्तरको काम भएको दाबी गरेको छ। अहिलेसम्म ७१ लाख भुक्तानी लिइसकेको छ। बाँकी रकम पुनः ढलानपछि दिइने तयारी भएको विद्यालयले जनाएको छ। फेरी माथिल्लो दोस्रो तलाको नयाँ ठेक्का १ करोड ५ लाखमा टेण्डर आह्वान गरिए पनि ठेकेदारले ७२ लाखमा कंवोल गरेको छ।

‘विद्यालयमै पुगेर अनुगमन गरेपछि काम राम्रो देखिएन्।’ नगर प्रमुख लोमन शर्माले भने, ठेकेदारलाई चर्किएकाले पुरै तोडेर फेरी ढलान लगाइयो।’

डिपिआर अनुसार भवनको टेण्डर गरेको र, पछि समस्या देखिएपछि स्टेटमेन्ट सच्चाएर ढलान भत्काएर ढलान गरिएको नारायण नगरपालिकाका इन्जिनियर पूर्ण प्रसाद कोइरालाले बताए।