☰ open Loading... 20 September 2024|  

चर्को शुल्क लिएको भन्दै जनमाविमा तालाबन्दी
  | २८ बैशाख २०८०, बिहीबार ०५:४१

सुर्खेत ।  शैक्षिक सत्र सुरु भएसँगै विद्यार्थी भर्ना अभियानले गति लिएको छ। भर्नासँगै सामुदायिक विद्यालयहरूले अभिभावकहरूबाट अनेक बहानामा चर्को शुल्क असुल्ने गरिरहेका छन् ।

नियामक निकायको कमजोरीका कारण अधिकांश निजी तथा केही सरकारी विद्यालयले भर्ना शुल्कका नाममा नियमित विद्यार्थीबाट समेत चर्को शुल्क असुली गर्न थालेपछि आर्थिक मन्दीको समयमा अभिभावकहरू मर्कामा परेका छन् ।

सामुदायिक विद्यालयमा निजीसरहको मासिक शुल्क, नियमित विद्यार्थीको पनि भर्ना शुल्क अनि नयाँ भर्नाका लागि प्रवेश परीक्षा कानूनविपरीतका काम भएको शिक्षा सम्बद्ध व्यक्तिहरू बताउछन। उनीहरू यसलाई भर्ना र मासिक शुल्क नभनेर अभिभावक शुल्क भन्न रुचाउँछन्।

शीर्षक जुनसुकै भए पनि अभिभावकले त्यो रकम नबुझाउँदासम्म छोराछोरीको भर्ना हुँदैन। अधिकांश निजी तथा केही सरकारी विद्यालयले नियमित विद्यार्थीको समेत महँगो भर्ना शुल्क लिएपछि अभिभावकहरूले विरोध गरेका छन् ।

उनीहरूले यस्ता रकम तिर्न बाध्य बनाइने गरेको भन्दै सशक्त विरोधका कार्यक्रम सुरु गरेका छन् । कर्णाली प्रदेशको ठुलो, चर्चित र काँग्रेस नेता गोविन्द कोइराला अध्यक्ष रहेको वीरेन्द्रनगर ६ बजारको जन नमुना माध्यमिक विद्यालयमा शुल्क कै विषयलाई लिएर विद्यालयको गेटमै तालाबन्दी गरिएको छ।

जनमाविले संविधान र ऐन नियमविरुद्ध दलित विद्यार्थीबाट भर्ना शुल्कदेखि विविध शुल्क असुली गरेकाले दलितका लागि दलित आन्दोलन नेपालले बुधवार उक्त विद्यालयमा तालाबन्दी गरेको छ। उक्त विद्यालयमा केही महिना अघि अख्तियारले समेत छापा मारी शुल्क उठाएको नगद रसिद सहित त्यहाँ कार्यरत कर्मचारीहरूलाई नियन्त्रणमा लिएको थियो।

पछि अनुसन्धान नै नगरी नियन्त्रणमा लिएकालाई छोडियो । अध्यक्ष कोइरालाको माथिल्लो तहमा राजनीतिक पहुँच भएकोले अख्तियारले मसिनो गरी अनुसन्धान गर्न नसकेको जानकारहरू बताउछन । यो विद्यालय आर्थिक रूपमा सम्पन्न छ।

देशभरका सामुदायिक विद्यालयहरूलाई गणना गर्दा जनमावि आर्थिक रुपमा बलियो विद्यालयमा पर्ने गरेको छ। अपारदर्शी हिसाबकिताब र आन्तरिक आयस्रोतलाई अध्यक्ष र प्रअबाट लुट भइरहेको उक्त विद्यालयका शिक्षकहरूले नै बताउने गरेका छन्।

विद्यालयले अनावश्यक शुल्क लिन बन्द नगरेको र यसलाई सहजीकरण गर्न र सहमति गर्न खोज्दा पनि विद्यालयले सहमति गर्नेतर्फ ध्यान नदिएका कारण उक्त विद्यालयमा तालाबन्दी गरेको राष्ट्रिय दलित पत्रकार सङ्घ कर्णाली प्रदेशका अध्यक्ष खगेन्द्र सुनारले खबरदृष्टिलाई जानकारी दिए ।

उनले जनमावि वीरेन्द्रनगर, नेपाल राष्ट्रिय मावि खजुरा, अमर ज्योति मावि नेवारे लगायत अन्य थुप्रै विद्यालयले विभिन्न बहानामा पैसा असुलेको खबर अभिभावकले गरेको हुँदा पनि विद्यालयले झुट बोलेर पैसा नलिएको बनावटी कुरा बोलेकोले आफूहरू तालाबन्दी गर्न बाध्य भएको बताए ।

अध्यक्ष सुनारले सुरुमा जनमाविमा तालाबन्दी गरेको र अबको केही दिनमा अन्य विद्यालयमा पनि तालाबन्दी गर्ने बताउँदै निःशुल्क शिक्षा भनी संविधानमै लेखेको कुरालाई कुल्चेर विद्यालयले मनोमानी तरिकाले पैसा असुलेको हुँदा आफूहरूले तालाबन्दी गर्न बाध्य भएको बताए ।

यो त आन्दोलनको सुरुवात मात्रै हो, हामीले गरेको निर्णयअनुसार नभए भोलि आगलागी हुनसक्छ, दलितका अभिभावकसँग खाने पैसा समेत हुँदैन भने निःशुल्क शिक्षा भनेको विद्यालयमा पनि तिर्ने पैसा कहाँबाट हुन्छ भन्दै उनले जनमाविले दलितलाई हेपेको बताए। उनले लगाइएको ताला जवर्जस्ती खोले खोल्नेको घरमा समेत ताला लगाउने चेतावनी दिए ।

 

जनमावि मात्रै होइन वीरेन्द्रनगरका अधिकांश विद्यालयले भर्ना गर्दा सहयोग शुल्क भन्दै मनोमानी तरिकाले शुल्क असुल्दै आएका छन् । केही दिनअघि नेपाल राष्ट्रिय माध्यमिक विद्यालय खजुरालेसमेत भर्ना शुल्क भन्दै पैसा मागेको गुनासो सार्वजनिक भएको थियो ।

विद्यालयले भर्ना शुल्क बापत एक हजार पैसा मागेकोले एक दलित महिलाले पैसाको अभावमा छोरा र छोरीको नाम लेख्न नसकेको खबरदृष्टिलाई बताएकी छन्।