☰ open Loading... 19 September 2024|  

दैलेख डढेलोमा एकको मृत्यु, चारलाई थप उपचारका लागि काठमाडौँ लगियो
  | २९ बैशाख २०८०, शुक्रबार ०५:०४

 दैलेखको आठबीस नगरपालिका–६, माल्या बुडा पहाडा सामुदायिक वनमा लागेको डढेलोमा परी गम्भीर घाइते भएका चार जनालाई बाँकेमा उपचारका लागि ल्याइएको थियो । तर उनीहरूको अवस्था गम्भीर भएकाले थप उपचारका लागि बिहीबार दिउँसो १२ः३० बजे नेपाली सेनाको स्काइ ट्रकबाट काठमाडौँ पठाइएको प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले बताए ।

काठमाडौँ रिफर गरिएकामध्ये नवीन विक, नैनी विक, बसुन्धरा विक र जैकला विक छन् । हिजो (बुधबार) आगलागीमा परेका १० जनामध्ये आठ जनालाई हेलिकोप्टरबाट नेपालगञ्ज ल्याइएकामध्ये भैरव विकको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भइसकेको अस्पतालले जनाएको छ ।

अहिले नेपालगञ्जमा तीन जना उपचार भइरहेको छ । भेरी अस्पतालमा एकजना र मेडिकल कलेजमा दुई जनाको उपचार भइरहेको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत बाटोमा काम गरिरहेका १० जना दैलेख जिल्लाको आठबिस–६ मा रहेको जङ्गलमा लागेको आगोमा परेका थिए ।