☰ open Loading... 20 September 2024|  

गाउँपालिका शिक्षा संयोजकले ४ लाख घुस मागेको आरोप
  | ३१ बैशाख २०८०, आईतवार ०५:३०

कालीकोट । जिल्लाको पलाता गाउँपालिका शिक्षा शाखा प्रमुख कलबहादुर भण्डारीले ५० लाखको योजना ल्याउने भन्दै ४ लाख कमिसन लिएको आरोप लागेको छ ।

पलाता गाउँपालिका–२ मा रहेको सिद्धनाथ आधारभूत विद्यालयमा भवनको योजना पार्ने भन्दै शिक्षा शाखा प्रमुख कलबहादुर भण्डारीले विद्यार्थीको नाममा आएको खाजा रकमबाट ४ लाख लिएको आरोप लागेको हो । गत साउनमा शिक्षा शाखा प्रमुख भण्डारीले विद्यालयमा ५० लाखको योजना पार्ने भन्दै प्रधानाध्यापक कृष्ण विकसँग ४ लाख कमिसन मागेको आरोप बाहिरिएको हो ।

‘विद्यालयको भवन जीर्ण छ, गाउँपालिकाले बजेट दिएन ५० लाख सहयोग आउँछ भनेर विद्यार्थीको नाममा आएको खाजा रकम र विद्यालयको खाताबाट हामीले शिक्षा शाखा प्रमुखलाई नगद र बैंक खातामा करिब ४ लाख रकम जम्मा गरिदयौं,’ प्रधानाध्यापक विकले भने, ‘अहिलेसम्म न त पैसा फिर्ता भयो न त योजना नै आयो ।’

२०७९ साल साउनमा ४ लाख रुपैयाँ लिएका भण्डारीले अहिलेसम्म न त विद्यालयको ४ लाख फिर्ता गरे न त ५० लाखको योजना नै ल्याए । अहिले पनि पलाता गाउँपालिका–२ लार्फमा रहेको सिद्धनाथ आधारभूत विद्यालयका बालबालिका जीर्ण भवनमा अध्ययन गरिरहेका छन् ।

नेपाल सरकारले कर्णालीका बालबालिकालाई विद्यालयमा नियमित बनाउन खाजाबापत दैनिक २० रुपैयाँ दिँदै आएको छ । २०७९ साल भदौ ८ गतेका दिन पलाता गाउँपालिकामा रहेको नबिल बैंकबाट कलबहादुर भण्डारीको नाममा ३ लाख ३५ हजार र सोही दिन नबिल बैंकबाटै ६५ हजार गरी विद्यालयका प्रधानाध्यापक कृष्ण विकले ४ लाख भण्डारीको खातामा जम्मा गरिदएको भौचर सुरक्षित छ ।

शिक्षा शाखा प्रमुख भण्डारीले व्यस्त भएको भन्दै टेलिफोनमा कुरा गर्न चाहेनन् । भण्डारीलाई अघिल्लो सरकारले आर्थिक अनियमितता गरेको भन्दै शिक्षा शाखा प्रमुखबाट हटाएको थियो । नयाँ जनप्रतिनिधि आएसँगै उनी फेरि शिक्षा शाखा प्रमुख भएर आएका थिए ।

जिल्ला प्रशासन कार्यालय कालीकोटले प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले लेनदेनको विषयमा उजुरी आए रकम लिने र दिने दुवैलाई कारबाही गर्ने बताए । पछिल्लो समय कालीकोट जिल्लामा विद्यालयलाई योजना हालिदने भन्दै रकम असुल्नेको बिगबिगी बढिरहेको छ ।

यता विद्यालयको भवनको अवस्था नाजुक छ राज्यले बालपोषणको नाममा दिएको रकम शिक्षा शाखा प्रमुखले खाए । अहिले यो स्कुलको अवस्था जस्ताको तस्तै छ ।