☰ open Loading... 16 September 2024|  

कर्णालीमा ‘नागरिक सहजकर्ता’ प्रहरी परिचालन
  | १ जेष्ठ २०८०, सोमबार ०५:३७

सुर्खेत । कर्णाली प्रदेशलाई सुरक्षाको दृष्टिकोणले सवल बनाउन प्रदेशभर आजबाट ‘नागरिक सहजकर्ता प्रहरी’ परिचालन गरिएको छ ।

कर्णाली प्रदेशका १० वटै जिल्लामा एकसाथ आजबाट ‘नागरिक सहजकर्ता प्रहरी’ परिचालन गरेर प्रहरीले नागरिकलाई दिने सेवा प्रभावकारी बनाउने कामको थालनी गरेको कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले बताए । सुरक्षित कर्णाली अभियान अन्तर्गत आम नागरिकले प्रहरी कार्यालय आउँदा सहज रुपमा सेवा लिन सकुन् । साथै आफ्ना समस्या र गुनासो कुन शाखामा कसलाई सुनाउने भनेर सहज रुपमा नागरिकलाई सेवा दिने उदेश्यले प्रदेशभर नागरिक सहजकर्ता प्रहरी परिचालन गरेको उनको भनाइ छ ।

नागरिक सहजकर्ता प्रहरी कर्णाली प्रदेशका प्रत्येक प्रहरी कार्यालयको गेटमा खटिनेछन् । प्रत्येक प्रहरी कार्यालयको गेटमा नागरिक सहजकर्ता प्रहरीको छुट्टै स्थान हुनेछ । कार्यालयमा सेवा लिन आउने नागरिकले आफ्नो गुनासो कहाँ राख्ने भन्नेबारे उनीहरुसंग सल्लाह र सहजिकरण लिन सक्नेछन् । नागरिक सहजकर्ता प्रहरी सेवा पहिलो पटक कर्णालीका सबै प्रहरी कार्यालय सुरु भएको छ ।

यसले प्रहरीले नागरिकलाई दिने सेवा अझ प्रभावकारी बन्ने र नागरिक तथा प्रहरीको सम्बन्ध अझ बलियो बनाउने जिल्ल प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरिक्षक योगेन्द्र सिंह थापाले बताए । कार्यक्रममा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुष्ण बहादुर जिसी, प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख तथा प्रहरीहरु, सुर्खेत जिल्ला स्थित विभिन्न राजनितक दल, नागरिक, तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।