☰ open Loading... 9 November 2024|  

जहाँँजहाँ राउटे, त्यहाँत्यहाँ बाँंदरको दोहोलो
  | ४ जेष्ठ २०८०, बिहीबार ०५:५१

दैलेखको भगवतीमाई गाउँपालिका–१, पगनाथकी कल्पना थापालाई यसपटक बाँदर धपाउन निरन्तर ड्युटी गर्नु परेन। अरू बेला उज्यालो भएदेखि अँध्यारो नहुँदासम्म बाली जोगाउन खेतबारीमै ड्युटी बस्नुपर्ने उनलाई यसपालि राउटेले सजिलो बनाइदिए। ‘हाम्रोतिर बाँदरले यति दुःख दिन्छ कि बालीनाली लगाउन पनि धेरैले छोडिसकेका छन्,’कल्पनाले भनिन्, ‘यो वर्ष गाउँनजिकै राउटे आए, बाँदरबाट मुक्ति पाइयो।’

बाँदर आतंकका कारण पहिलेजस्तो गाउँमा खेतीपाती गर्न छाडिएको छ। खेतीपाती नगर्नुको अर्को कारण गाउँघरमा बालबालिका स्कुल पढ्न र कमाउने उमेरका कामको खोजीमा सहर पसेका हुन्छन्। यो वर्ष गाउँ नजिकै राउटे आउँदा बाँदरबाट राहत मिलेको कल्पनाको भनाइ छ। ‘राउटेले सिकार गर्ने भएकाले उनीहरूलाई देख्नेबित्तिकै बाँदर चारकोष टाढा भाग्छन्,’ उनले भनिन्। बाँदर धपाउनकै लागि गाउँका हरेक घरले कुकुर पालेका छन्। कुकुर पाल्नु रहर भने होइन। ‘एक्लै बाँदर धपाउन जाँदा उल्टै झम्टन आउँछन्,’ उनले भनिन्, ‘कुकुरसँगै भए धपाउन सजिलो हुन्छ।’ विशेष गरेर मकै र आलु लगाउने सिजनमा बाँदरले धेरै दुःख दिने गरेको उनको अनुभव छ।

‘मकैमा घोगा लाग्ने बेलादेखि नभित्र्याउँदासम्म बिहानदेखि रातिसम्म ड्युटी दिनुपर्छ, आलु लगाउँदै जान्छौं, बाँदरले खोस्रेर फालिदिन्छ, हाम्रो मुख्य बाली नै मकै र आलु हो,’ उनले भनिन्, ‘बाँदरका दुःखले यहाँ धेरैले खेती गर्न छाडेका छन्।’ कल्पनालाई यस वर्षको हिउँदमा बालीनाली लगाउनेदेखि स्याहार्ने बेलासम्म बाँदर धपाउने दुःख गर्नुपरेन। नेपालकै लोपोन्मुख राउटे यसपालिको हिउँदमा राउटे गाउँ नजिकै गएर बस्दा बाँदरले नसताएको उनको बुझाइ छ। ‘राउटेले बाँदरको संख्या घटाइदिए, अहिले पनि गाउँ आसपास बाँदर देखिएका छैनन्,’ कल्पनाले भनिन्, ‘यो वर्षको हिउँदे बालीनालीमा बाँदर लाग्न पाएन।’ उनलाई बाली लगाउनेदेखि स्याहार्ने समयमा राउटे गाउँ आसपास आएर बसिदिए हुन्थ्यो भन्ने लागेको छ।

जाजरकोटको खेडागाड नगरपालिका–५ की देवीका शाहीको पीडा पनि कल्पनाको जस्तै छ। बाली बाँदरले खाएर हैरान हुन्थिन् उनी। ६ महिनाअघि राउटेहरू सुर्खेत हुँदै उनको गाउँमा पुगे। एक महिना गाउँ आसपास जंगलमा बस्दा राउटेले बाँदरको सिकार गरे। ‘अहिले त बाँदर घटेका छन्,’उनले भनिन्, ‘दुःख केही कम भएको छ।’उनका अनुसार राउटे हुँदासम्म खेतबारीमा बाँदर देखिएनन्। ‘राउटे गएपछि बाँदर आउन थालेका छन्,’ उनले भनिन्, ‘महिना बिराएर राउटे आइदिए बाँदरबाट पाएको दुःख कम हुन्थ्यो कि ?’

राउटे समुदाय नेपालको एक मात्र फिरन्ते जाति हो। राउटे समुदायका स्पष्ट तीन मान्यता छन् ः खेतीपाती नगर्ने, एउटै ठाउँमा नबस्ने र लेखपढ नगर्ने। राउटेहरू मासु खान बाँदरको सिकार गर्छन्। राउटे कर्णालीका सुर्खेत, सल्यान, जाजरकोट, दैलेख, कालिकोट र सुदूरपश्चिमको अछामलगायत जिल्लामा घुम्छन्। राउटे समुदायसँगै रहेर काम गर्दै आएका सामाजिक सेवा केन्द्र (सोसेक) का जोडी शिक्षक लालबहादुर खत्रीका अनुसार पछिल्लो एक वर्षको अवधिमा राउटेले ७ सय ५३ वटा बाँदर मारेका छन्। ‘राउटे समुदायका लागि बाँदर नै मुख्य सिकार हो,’ उनले भने, ‘उनीहरू जहाँ बस्छन्, त्यहीं बाँदरको सिकार गर्छन्।’

राउटेहरूले बाँदरको सिकार गर्नुअघि आफ्नो समुदायका मुखियाको अनुमति लिन्छन्। धामीसँग बाँदर मार्ने साइत निकाल्छन्। त्यसपछि समूह बनाएर जंगल पस्छन्। उनीहरू बाँदरलाई लखेट्दै जालमा फसाउँछन् अनि भालाले हानेर मार्छन्। ‘राउटेहरू बाँदरभन्दा पनि तेज डौदिएर सिकार गर्छन्,’खत्री भन्छन्, ‘महिलालाई भने सिकार गर्न जान प्रतिबन्ध लगाइएको हुन्छ।’ राउटेले मार्ने भएकाले उनीहरूलाई देख्नसाथ बाँदर भाग्ने उनले बताए।

राउटेले बाँदर मारेर ल्याएपछि सिकार गएका प्रत्येकलाई भाग लगाउँछन्। पुरुष भएका तर सिकार गर्न नगएका घरधुरीलाई भने भाग लगाउँदैनन्। एकल महिलालाई भने भाग लगाइन्छ। राउटे मुखिया सूर्यनारायण शाही आफूहरूको मुख्य आहारा बाँदर भएको बताउँछन्। उनका अनुसार अहिले खसी–बाख्रा, कुखुरालगायत खान थालिए पनि बाँदर मार्ने काम भने रोकिएको छैन। ‘पहिले–पहिले हाम्रो आहारा नै बाँदर हुन्थ्यो, बाँदरहरू पनि जंगलमा प्रशस्तै हुन्थे,’उनले भने, ‘बाँदर घट्दै गए, हामी पनि खसी–बाख्रा, कुखुरा खान थाल्यौं।’ मुखिया शाहीका अनुभवमा उनीहरू हिँड्ने ‘करिडोर’मा बाँदरको संख्या घट्दै गएको छ।

राउटेहरू बसाइँ सर्नुअघि त्यस क्षेत्रमा मूलको पानी र सिकार गर्न बाँदर छन् कि छैनन् भनेर हेर्छन्। ‘मूलको पानी र बाँदर हुने क्षेत्रमा हामी धेरै बस्छौं,’ अर्का मुखिया वीरबहादुर शाहीले भने, ‘बाँदरको मासु केटाकेटीले पनि धेरै मन पराउँछन्।’पछिल्लो समय सरकारले दिने सामाजिक सुरक्षा भत्ताले उनीहरूले खसी–बाख्रा र कुखुरा पनि किनेर खान थालेका छन्। सामाजिक सुरक्षाभत्ता पाउनुअघि काठका सामग्रीसँग उनीहरू खसी–बाख्रा साटेर लिन्थे। राउटेसँगै सोसेकका जोडी शिक्षक पनि बसाइँ सर्छन्। पछिल्लो एक वर्षमा राउटेले कुन–कुन महिनामा कति बाँदरको सिकार गरे भन्ने तथ्यांक सोसेकले राखेको छ। एक वर्षको अवधिमा १५ ठाउँमा बसाइँ सरेका राउटेहरूले बाँदर मारेको देखिन्छ।

सरोकारवाला कार्यालयसँग राउटे करिडोरमा बाँदरको संख्या घट्दै जानुको खास कारण भने छैन। ‘तर राउटेले बाँदरको सिकार गर्ने भएकाले उनीहरूको संख्या घटेको अनुमान गर्न सकिन्छ,’ डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख मुनबहादुर रावतले भने, ‘जहाँजहाँ राउटे जान्छन्, त्यहाँ बाँदरको संख्या पनि घट्दै गएको देखिन्छ।’

पूर्वी नेपालतिर बाँदरले बालीनाली सखाप पारेको, बाँदरकै कारण बालीनाली लगाउन छाडेको, बसाइँसराइ भइरहेको समाचार सुनिए पनि राउटे करिडोरमा भने त्यो समस्या देखिँदैन। राउटे वर्षैभरि घुमिरहने भएकाले उनीहरू गएको ठाउँमा बाँदरको संख्या पनि घट्दै गएको देखिन्छ। ‘मानिसले खेतीपाती गर्न छोड्दा र जंगल क्षेत्र विस्तार हुँदा बाँदरको संख्या बढ्नुपर्ने हो,’ रावतले भने, ‘अरू ठाउँको र राउटे बस्ने ठाउँको अवस्था फरक छ।’

अघिल्लो वैशाखमा राउटेहरू सुर्खेत हुँदै जाजरकोटको थलहमा पुगेका थिए। अहिले उनीहरू दैलेखको दुल्लु नगरपालिकाको नाभीस्थानबाट कर्णाली तिरैतिर भएर सुदूरपश्चिमको अछाम जाने तयारीमा छन्। राउटेहरू बसेको ठाउँमा कसैको मृत्यु भए तत्कालै अन्यत्र सर्छन्। एक वर्षको अवधिमा राउटे बस्तीमा एकजनाको मात्रै मृत्यु भएको छ। यो अवधिमा एउटा बच्चा पनि बस्तीमा जन्मेको छैन। ‘एक वर्षको अवधिमा जाजरकोटको थलह, घुम्नेगाउँ, सुयडा, दैलेखको मनघर, बेस्तडा, बाबियातडा, लोहोरे, चुप्रा, कोटिला, हुलाकटाकुरा हुँदै अहिले राउटे समुदाय दुल्लुको नाभीस्थानमा बसिरहेको छ,’ सोसेकका जोडी शिक्षक दुर्गा खत्रीले भने, ‘अब यहाँबाट कर्णालीको तिरैतिर हुँदै अछामतर्फ जाने तयारीमा छन्।’ फिरन्ते यो समुदायका ४० घरधुरी छन्। उनीहरूको संख्या १४२ छ।

राउटेहरू बसाइँ सर्नुअघि त्यस क्षेत्रमा मूलको पानी र सिकार गर्न बाँदर छन् कि छैनन् भनेर हेर्छन्। उनीहरू जहाँ बस्छन्, त्यहीं बाँदरको सिकार गर्छन्। उनीहरू बाँदरलाई लखेट्दै जालमा फसाउँछन् अनि भालाले हानेर मार्छन्। राउटेले मार्ने भएकाले उनीहरूलाई देख्नासाथ बाँदर पनि भाग्ने गरेको सोसेकका जोडी शिक्षक लालबहादुर खत्री बताउँछन्।