☰ open Loading... 23 June 2024|  

संरक्षणको पर्खाइमा जुम्लाको केदारनाथ मन्दिर
  | ७ जेष्ठ २०८०, आईतवार ०५:३६

जुम्लाको सिंजा गाउँपालिका-४ बारेगाउँमा अवस्थित केदारनाथ मन्दिर (बुद्धबुद्धि) संरक्षणको पर्खाइमा छ। सबैभन्दा अनमोल सम्पदा मानिएको केदारनाथ मन्दिर संरक्षण र संवर्द्धनको अभावमा जीर्ण बन्दै गइरहेको छ।

केही स्थानीयहरूले यसलाई आधुनिक बनाउने तवरले सोही अनुसार निर्माण गराई यसको प्राचीन स्वरूपलाई कुरूप बनाउन खोजेका छन् भने केहीले मौलिक सम्पदालाई सोही अनुरूप संरक्षण गर्नुपर्ने बत्ताउँछन्।

समुद्री सतहदेखि करिब ३ हजार ५ सय मिटर उचाइमा अवस्थित केदारनाथ मन्दिरमा केदारनाथको मूल कुण्डभित्र चढाइएका सयौँ वर्ष पुराना तामा, पित्तल र चाँदीका सिक्काको थुप्रो र हजारौँ वर्ष पुरानो मानिएको धातु जडित उत्कृष्ट कालीगढीका गौमुख भएका नुहाउने धारा थिए। बारे गाउँका स्थानीयका अनुसार सबै सशस्त्र द्वन्द्वकलामा हराए। यस मन्दिर भारतका चार धामभन्दा पनि पुरानो भएको मानिन्छ। अहिले यहाँ काठबाट बनेका गाईका तस्बिर, ढंगा कुदेर बनाएका मूर्ति मात्र छन्। ती सबै बेवारिसे अवस्थामा।

पहिले केदारनाथ मन्दिरमा पुरानै आकारमा ८ वटा गौमुख धारा थिए, अहिले आधुनिक धारा निर्माण गरिएको स्थानीय मिसन बुढाले बताए। धारा भित्र पाइप हालिएको छ, बाहिर सिमेन्ट प्रयोग हुनुले पहिचान मेटाउने काम भएको उनले बताए।

जिल्लाकै सबैभन्दा आकर्षण मानिएको पवित्र तीर्थस्थल केदारनाथको सम्भाव्यता, महत्त्व र यसको पहिचानबारे कसैले चासो नदेखाएको बुढा बताउँछन्। मन्दिर नजिकैको पहराबाट निस्किएको पानीको मूल छ, तर उक्त मूललाई सिमेन्टबाट ताल बनाइएको छ।

मन्दिरको थप आकर्षक घट्दै गरेको अर्को स्थानीय सौर्य बुढाले बताए। पानीको कुण्ड गनाउने र, जथाभाबी फोहोर भएको उनको गुनासो छ।

यहाँ साउन पूर्णिमा अघि एकादशीमा ठुलो मेला लाग्ने गर्छ। पूजाका लागि कर्णाली र सुदूर अन्य क्षेत्रबाट भक्तजन आउने गर्दछन्। हरेक वर्षको साउन, वैशाख र माघ पुर्णिामा त्यहाँ नपुगी धर्म कर्म अनुसार पूजा आजा हुँदैन भन्ने धार्मिक मान्यता छ। पाप गरेको, कु-कर्म गरेको जान्छ, भन्ने जनविश्वास छ।

यस क्षेत्रमा पर्यटन क्षेत्र विकास र पूर्वाधार प्रति स्थानीय सरकार उदासीन छ।यस क्षेत्रलाई केवल निर्वाचन जित्ने आधारका रुपमा हेरिनु दुःखको कुरा हो।

केदारनाथलाई रेखदेख गर्ने एउटा चौकीदार राखिएको छ, सिंजा -४ का वडा अध्यक्ष रनजित बुढा भन्छन् ‘सिंजा गाउँपालिकाले बजेट विनियोजित गर्ने भनेर आश्वासन मात्रै दियो,अहिले सुको रकम पनि दिएको छैन। यसमा मेरो पनि जिम्मेवारी हो, तर कुरा राख्दा सुनुवाइ हुँदैन, भाकल गरिएको कुरा पुग्ने विश्वासका साथ अहिले यहाँ पूजा गर्न र अवलोकनका लागि सुर्खेत, कालिकोट, अछाम, मुगु र बाजुरालगायत स्थानबाट धार्मिक पर्यटक आउनेछन्।’ उनी भन्छन्।

यस धार्मिक स्थललाई स्वदेश तथा विदेशमा चिनाउनका लागि प्रचारप्रसार गर्न र नेपालकै प्रमुख पर्यटकीय केन्द्रको रूपमा विकास गराउन आवश्यक छ।