☰ open Loading... 5 February 2025|  

यस्तो देखियो जुम्लाको रोपाइँ
  | ८ जेष्ठ २०८०, सोमबार ०५:५०

विश्वको उच्च स्थानमा मार्सी धान उत्पादन हुने जुम्लाको पातारासी स्थित छुमचौर जिउलोमा रोपाइँ सुरु भएको छ।

कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री भिमप्रकाश शर्माले मार्सी धानको बिउ खेतमा रोपेर छुमचौर जिउलोमा मार्सी धान रोपाइँ सुरु गरेका हुन।

पछिल्लो समयमा मार्सी धानमा रोगको संक्रमण बढेको भन्दै किसानहरुले धान रोप्न छोडेपछि पहिलो पटक कृषि मन्त्री पुगेर मार्सी धानको उत्पादनमा लाग्न किसानहरुलाई हौसला दिएका हुन।

खेतमा रोपेको धानमा रोग लाग्ने, असिना र बर्सातका कारण भित्र्याउने समयमा दाना झार्ने देखि धानभित्रको चामल टुक्रा टुक्रा हुने समस्या देखिएकाले मार्सी धान उत्पादनमा गिरावट आएको भन्दै किसानहरुले खेतहरु बाँझो राख्दै आएका थिए।

पातारासी ३ की ललिता बुढाले छुमचौरमा रोपिने मार्सी धानको पहिचान आफैमा महत्त्वपूर्ण भएको बताइन्। तर मरुवा रोगको कारण सधैँ उत्पादन कम हुने भएकोले किसानहरुको जोस हराउँदै गएको उनको गुनासो थियो।

उनले भनिन्, ‘संसारको उच्च स्थानमा फल्ने मार्सी धान जिउलो छुमचौर भनेर सामान्य ज्ञानहरूमा समेटिएको छ। तर बर्सेनि खेतहरु बाँझो हुदैं जाँदा किसानहरु मार्सी धानको खेती छोड्न थालेका छन्। यो राम्रो भएन।’

उनले कर्णाली सरकारले छुमचौरलाई मार्सी धानको हिसाबले कृषि पर्यटन क्षेत्रको रुपमा घोषणा गरेर रोपाइ व्यवस्थित बनाउनुपर्ने माग राखिन्।

छुमचौर जिउलोमा पछिल्लो समयमा अधिकतम २० वटा खेतमा मार्सी धानको रोपाइ चल्ने गरेको छ। किसानहरु खेतहरूमा सिमी, मकै, कोदो, चिनो, कागुनो, जौं, गहुँ र आलु खेती गर्न थालेका छन्।

किसानहरुले निरोगी मार्सी धानको बिउ उपलब्ध गराउन माग गर्दै व्यावसायिक मार्सी धान खेतीको सुरुवातका लागि बजेट व्यवस्थापन गर्न आग्रह गरेका छन्। मार्सी धानको खेतीबाट उत्पादन राम्रो नभएपछि किसानहरु यो समयमा यार्सा टिप्न पाटनतिर जाने गरेका छन्।

समुन्द्री सतहदेखि २ हजार ८ सय ५० मिटर उचाइमा रहेको छुमचौर जिउलोमा मार्सी धान लहलहाउने गरेर योजना बनाउन समेत किसानहरुले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्।

कृषि मन्त्री शर्माले मार्सी धानको जगेर्ना गर्नु सबैको दायित्व भएको बताए। उनले भने, ‘मार्सी धानको माग पनि अत्यधिक छ। मूल्य पनि उच्च नै छ। किसानले गुणस्तरीय मार्सी धान उत्पादन गर्नुपर्ने देखिन्छ। जसका लागि कर्णाली प्रदेश सरकारले साथ दिन तयार छ।

मन्त्री शर्माले किसानहरुसँग मिलेर धान रोपेका हुन्। साथै रोपाइको क्रममा भएको चोपाइमा समेत भाग लिए। मार्सी धानको उत्पादन हुने छुमचौर जिउलोलाई कृषि पर्यटनको गन्तव्य बनाउन जुम्लाका सरोकारवाला सबैको एक मत हुनुपर्नेमा जोड दिँदै उनले मार्सी धानको खेतीलाई आधुनिकीकरण गर्दै लैजानुपर्ने बताए।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, पातारासी गाउँ‘पालिका अध्यक्ष पूर्णसिंह बोहोरा, उपाध्यक्ष जनमाया रोकाया, जिल्ला कृषि विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख गणेश अधिकारी सहितको टोली रोपाइ गर्न छुमचौर जिउलोमा पुगेका थिए।

उनीहरूले छुमचौरलाई मार्सी धानको पकेट क्षेत्रका रुपमा अघि बढाएर योजना बनाउन आग्रह गरेका थिए।

पातारासी गाउँ‘पालिकाले मार्सी धानको खेती सुरु गर्न डिपिआर समेत बनाएको छ। किसानहरुले रोपाइ गर्ने जिउलो घेराबार गर्नुपर्ने, सिचाइ र रोगको उपचारमा प्राविधिक सहयोग निरन्तर पाउनुपर्ने माग राखेका छन्।

मार्सी धानको चामल पञ्चायतमा हुलाक मार्फत राजामहाराजाहरु कहाँ सम्म पुग्ने गरेको थियो। अहिले पनि स्वदेश तथा विदेशका बजारहरुमा मार्सी चामलको माग अधिक छ। छुमचौर जिउलो सम्म सडक सञ्जाल पुगेको छ। मार्सी धान बारे अध्ययन अनुसन्धान गर्नेहरू किसानहरु सँगै बस्ने गरेका छन्।

साथै पातारासी हिमाल हेर्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरु समेत छुमचौर जिउलोमा पुगेर मात्र फर्कने गरेका छन्। पातारासी गाउँ‘पालिकाले छुमचौरलाई मार्सी धान उत्पादनको केन्द्र बनाउन डिपिआर बनाएर अघि बढेको जनाएको छ। मार्सी धान रोपाइ गर्न किसानहरु जिउलोमा भेला भएका थिए।