☰ open Loading... 18 October 2024|  

सिमकोटमा कृषि सिकाइ केन्द्र सञ्चालनमा
  | २४ जेष्ठ २०८०, बुधबार ०५:०३

हुम्ला : हुम्लाको सिमकोट गाउँपालिकामा कृषि सिकाइ केन्द्र सञ्चालमा ल्याइएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को साझेदारीमा वातावरण तथा कृषि नीति अनुसन्धान प्रचार एवम् विकास केन्द्र (सिप्रेड)द्वारा सञ्चालित ग्रेप परियोजनाअन्तर्गत कृषि सिकाइ केन्द्र सञ्चालनमा ल्याइएको हो ।

 

कृषि क्षेत्रमा सहयोग पुर्‍याउन र जलवायु उनुकुलन राख्ने लक्ष्यका साथ सिमकोट गाउँपालिकाका तीन वडामा कृषि सिकाइ केन्द्र स्थापना गरिएको हो । सो केन्द्रमा सिमकोट गाउँपालिका वडा नं ४, ५ र ६ का किसानलाई वातावरण अनुकुलन राख्न कुन समयमा के तरकारी लगाउने, कस्तो किसिमको फलफूल लगाउने भन्ने जानकारी दिइने छ ।

 

दुई रोपनी जग्गामा सञ्चालन गरिएको सिकाइ केन्द्रमा विभिन्न प्रकारका तरकारी उत्पादन गरिएको छ । जस्तै काउली, बन्दा, गोलभेडा, गाँजर, लसुन, करेलालगायतका तरकारी उत्पादन गरिएको छ ।

 

सिप्रेड हुम्लाका वरिष्ठ कृषि प्रविधिक भवानीदत्त पन्तले सामुदायका विभिन्न समूहलाई उक्त केन्द्रमा ल्यायर सिकाउँदै आएको सिमकोट गाउँपालिकाकी उपाध्यक्ष शुशीला रोकायाले बताइन् । उपाध्यक्ष रोकायाका अनुसार सुन्धारा कृषि समूहको सहयोगमा केन्द्रमा विभिन्न प्रकारका तरकारी उत्पादन गरिएको छ । तरकारी उत्पादनले आर्थिकरुपमा पनि राम्रो हुने र सिकाइ पनि हुने भएकाले यो केन्द्र स्थापना गरिएको उनले बताइन् ।

 

किसानलाई झोल मल, झोल विषादी तथा कम्पोष्ट मलबारे सिकाइएको तथा किराका लागि बत्तीको पासो, च्यापच्यापेको प्रयोग, टुटाको प्रयोग, सोइल सोलाराइजेशनजस्ता जानकारी पनि सिकाइ केन्द्रमा किसानलाई सिकाएको वरिष्ठ कृषि प्रविधिक पन्तले बताए । पन्तका अनुसार सिमकोट गाउँपालिकाभित्रका करिब ४५ जनालाई सीप सिकाइएको र किसानहरुले सीप प्रयोगमा पनि ल्याइसकेको जानकारी दिए ।

 

कृषिमा मात्र सिकाइ केन्द्र नभएर विभिन्न क्षेत्रका लागि सिकाइ केन्द्रको व्यवस्था गर्नुपर्ने आवश्यक रहेको स्थानीयहरु बताउँछन् ।