जुम्लाका भेडी गोठाला बथानसहित पाटन उक्लिएका छन्। जुम्लाको पातारासी गाउँपालिका-७ पटमारा गाउँका गोठाला भेडाको बथान सहित पाटन उक्लिएका हुन्।
फिरन्ते जीवनशैलीका भेडी गोठालाले धमाधम गोठ पाटनतिर लगेपछि गाउँ सुनसान बनेका छन्। जेठ १५ देखि नै गोठालाले भेडाको बथान पाटनतर्फ लैजान सुरु गर्छन्। जेठ अन्तिम सातासम्म लगभग सबै गोठाला भेडा, बाख्राको बथानसहित पाटन उक्लिसक्ने पातारासी गाउँपालिका-७ पटमारा गाउँका रनलला बुढाले बताए।
बेंसी अर्थात् गाउँघरमा घाँसपात र चरन क्षेत्रको अभाव भएका कारण उनीहरु आफूले पालेका वस्तुभाउसहित पाटन उक्लने गरेका हुन्। सोही गाउँका भेडी गोठाला सुकलाल बुढाका अनुसार जेठदेखि कार्तिकसम्म पाटन गएका गोठाला गोठ र त्रिपालमुनि भेडाबाख्रासँगै बिताउने गर्छन्। उनका ३५ भेडा छन्। सुरक्षाका लागि उनीहरुका साथमा कुकुर रहने गर्छ। उनीहरु खाद्यान्नसहित त्यहाँ जाने गर्छन्।
हिले पाटन उक्लिएका सबै भेडी बथानसँगै दशैंमा बेंसी झर्छन्। पातारासी गाउँपालिकाका भेडा कृषकले माथिल्लो क्षेत्र खाली पाटन बलिभिर पाटन, डोरपाटन, झुलारुख पाटन ,दाखु पाटन,डाफेँ पाटन, दोफानखर्कलगायत पाटनमा भेडाबाख्राको बथानसँग ६ महिना बिताउने गरेको स्थानीय राजकली रावतले बताइन्।
पातारासी-७ पटमारा गाउँमा १ सय ९० घरधुरी छन्।प्रत्येक घरमा ५० देखि ६० वटामा भेडा पाल्छन्। धेरै कृषकले भेडा बाख्रा पालेका छन्। हिमाली क्षेत्र भएकाले यहाँ बाह्रै महिना एकै ठाउँमा बसेर भेडापालन गर्न भने सकिँदैन। अर्को भेडा गोठाला पुर्ण बुढा ४ महिने बसाइपछि बेसिँ झारिने बताउँछन्। जुम्लाका आजभोलि पाटनहरु रमाइला देखिन्छन्। घुमन्ते जीवन बिताउने भेडिगोठालाहरु भोजपत्र, त्रिपाल र ढुँगाले छाएको गोठ बनाएर बस्छन्। ३ महिनालाई पुग्ने खाद्यान्न आफन्तले पुर्याइदिन्छन्।भेडाको ऊनले बुनेको राडि पाखि ओड्ने, ओछ्याउने गर्छन। भेडालाई महिनामा ३ पटक आयडिनयुक्त नुन दिन्छन्। भने असोजमा उmन पुड्ने (निकाल्ने) गरिन्छ। उmन कातेर राडिपाखी बुन्छन्।
जुम्लामा भेडापालनलाई पुख्यौली पेशाका रुपमा हेरिन्छ। मुख्य आम्दानीको स्रोत भेडाबाख्रा नै हुने हुदा जिल्लाका ८ वटै स्थानीय तहका सबै बस्तिहरुमा भेडा पालन हुन्छ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका अनुसार हिमाली जिल्ला मध्ये सबै भन्दा बढि भेडापालन हुने जिल्ला जुम्ला हो।ु’भेडा पालत त गछौं तर भेडाबाख्रा बिरामी पर्दा समयमै औषधि पाउँदैनौं, पाटनमा बस्नको लागी व्यवस्थित गोठहरु हुदैनन्,’ गोठालाहरुले गुनासो गरे। भेडिगोठालाहरु हातमा ताकु, कठालोमा छाता,पिठ्युँमा झोला,भिडेर दिउँसोको समय भरी भेडा चराएर बेलुकी खर्क फर्किने गर्दछन्।
जुम्लामा करिव ७४ हजारको हाराहारीमा भेडा रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले बताए। उनका अनुसार भेडाबाट आम्दानी राम्रो छ।
कर्णाली प्रदेश सरकारले भेडी गोठालालाई मासिक रुपमा १ हजार ५ सय रुपैयाँका दरले एक वर्षमा १८ हजार रुपैयाँ दिँदै आएको छ।व्यवसाय प्रति आकर्षित गर्न गोठालो भत्ता दिन थालेको हो।ज्ञानेन्द्रसिंह बुढ्थापाका अनुसार कार्यविधि अनुसार ५० भन्दा माथि भेडा पाल्ने किसानले मात्र ‘गोठालो भत्ता’ पाएका छन्। कर्णालीको कृषि मन्त्रालयको वार्षिक कार्यक्रम अन्तर्गत पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लामार्फत जुम्लाका भेडापालक किसानले ‘गोठालो भत्ता’ पाउदै आएका छन्।