☰ open Loading... 19 September 2024|  

क्यानडामा इन्दिरा गान्धीको हत्याको खुसियाली मनाइएपछि…
  | २६ जेष्ठ २०८०, शुक्रबार ०५:००

काठमाडौं । भारतीय विदेशमन्त्री एस. जयशंकरले क्यानडामा पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको हत्याको उत्सव मनाएको विषयमा कडा टिप्पणी गरेका छन्।

अपरेशन ब्लु स्टार (जून ६) को वार्षिकोत्सवको केही दिनअघि क्यानडाको ब्राम्पटन सहरमा पाँच किलोमिटर लामो झाँकी निकालिएको थियो, जसमा चलिरहेको गाडीमा इन्दिरा गान्धीको हत्याको दृश्य देखाइएको थियो।

यसमा कांग्रेस नेता मिलिन्द देवरा र जयराम रमेशबाट कडा प्रतिक्रिया आएको छ ।

देवराले भनेका छन्, ‘एक भारतीय भएकाले क्यानडामा निकालिएको झाँकी देखेर म छक्क परें । यो यता वा उताको पक्ष लिने कुरा होइन । यो कुनै देशको इतिहास र प्रधानमन्त्रीको हत्याबाट भएको पीडालाई सम्मान गर्ने कुरा हो । यसको लागि एकजुट प्रतिक्रिया र विश्वव्यापी निन्दा हुनुपर्छ।’

मिलिन्द देवरासँग सहमत हुँदै कांग्रेस नेता जयराम रमेशले भने कि यो निन्दनीय छ र जयशंकरले यस विषयमा क्यानाडा सरकारसँग विरोध गर्नु पर्छ।

एस. जयशंकरले यस विषयमा भनेका छन्, ‘मलाई लाग्छ यो घटना ठूलो समस्यासँग सम्बन्धित छ। क्यानडाले पृथकतावादीहरू, चरमपन्थीहरू र हिंसालाई समर्थन गर्नेहरूलाई अनुमति दिइरहेको छ। भोट बैंकको आवश्यकता बाहेक हामीले यसको कारण बुझ्दैनौं। मलाई लाग्छ यो आपसी सम्बन्ध र क्यानडाका लागि राम्रो होइन।’

यसै क्रममा क्यानडाको उच्चायोगले यस घटनाको निन्दा गर्दै घृणा र हिंसाको महिमाको लागि क्यानडामा कुनै ठाउँ नभएको बताएको छ ।

क्यानडाका उच्चायुक्त क्यामरन म्याकेले आफ्नो ट्विटर एकाउन्टमा लेखेका छन्, “क्यानडामा दिवंगत भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको हत्याको सम्झनामा आयोजित कार्यक्रमको खबर सुनेर म स्तब्ध छु। क्यानाडामा घृणा र हिंसाको महिमाको कुनै स्थान छैन। म त्यस्ता गतिविधिको घोर भर्त्सना गर्दछु।”