☰ open Loading... 20 September 2024|  

पंचकोशी क्षेत्रको विकासका लागि आफ्नो भूमिका रहने- प्रधानमन्त्री दाहाल
  | ३२ जेष्ठ २०८०, बिहीबार ०५:४१

नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल आफ्नो पुर्खाहरू बसेको थलो खोज्दै दैलेख पुगेका छन्। उनी दैलेखको दुल्लु नगरपालिका –१२ स्थित दह गाउँमा पुगेका हुन्।

पुर्खाहरूको पवित्र भूमिमा पुगेर आफू धन्य भएको बताउँदै प्रधानमन्त्री दाहालले पुण्य भूमिको विकासका लागि लाग्ने बताए।

घरमा पहिले बाबु बाजेले दह गाउँमा आफ्नो पुर्खा भएको भन्दै आउनुभएको थियो।’ प्रधानमन्त्री दाहालले कार्यक्रममा भने, यहाँ पवित्र भूमिमा आउँदा खुसी छु। बासुकै अगाडी कसम खान्छु समग्र नेपालीहरुको विकासका लागि लाग्नेछु।’

सो अवसरका प्रधानमन्त्री दाहालले दैलेखको दहमा रहेको वत्सगोत्रीय दाहाल, लम्साल, रुपाखेती, कुँवर र राणा आदिपुरुषका रुपमा प्रख्यात कुल शिरोमणि दासुको पहिलो शालिक समेत अनावरण गरे।

प्रधानमन्त्री दाहालले जाँदाजाँदै दैलेखमा रहेको पंचकोशी क्षेत्रको विकासका लागि आफ्नो भूमिका रहने समेत प्रतिबद्धता व्यक्त गरे।

पुर्खाहरूको भूमिमा प्रधानमन्त्रीको उपस्थितिले यस ठाउँको महत्त्व झन् बढेको प्रदेश सभा सदस्य घनश्याम भण्डारीले बताए।

‘प्रधानमन्त्री दाहाल लगायत दैलेखमा ३२ जातजातिको उद्गम थलो रहेको छ।’ प्रदेश सभा सदस्य भण्डारीले भने, सबैले आफ्नो पुर्खाको गाउँमा  एक पटक आउनुपर्छ।’

कुल शिरोमणि दासु स्मृति तथा अनुसन्धान प्रतिष्ठानले आफ्नो जातीहरुको उत्पतिस्थलमा पहिलो पटक शालिक राखेको हो। दह गाउँ दाशु सन्ततिहरु दाहाल, लम्साल, रुपाखेती, कुँवर तथा राणाहरुको आदिभूमि हो।

कुल शिरोमणि दासुको सुरुको बसोबास भएको स्थान दह गाउँमा ६६ इन्चको पूर्ण कदको प्रतिमा (शालिक) स्थापना गरिएको दासु स्मृति तथा अनुसन्धान प्रतिष्ठानका सल्लाहकार गंगाराम दाहालले बताए।