☰ open Loading... 20 September 2024|  

जुम्ला राष्ट्रिय प्रशारण लाइनमा जोडिए पनि विद्युतको समस्या उस्तै
  | १ असार २०८०, शुक्रबार ०५:३९

जुम्लाको चन्दननाथ नगरपालिका– ७ की अतिना रावल बत्ती नहुँदा बेलुका पढ्न पाउँदिनन्। कनकानिशा माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत अतिनाले बत्ती नहुँदा गृहकार्य गर्न नपाएकी हुन्।

जुम्ला जिल्ला राष्ट्रिय प्रशारण लाइनमा जोडिए पनि बिजुली नआउँदा जिल्लावासीको अवस्था फेरिन सकेको छैन। बेलुकी र रातको समयमा बिजुली नहुँदा दियालो वा टुकीको भर पर्नुपरेको अतिनाको गुनासो छ।

चन्दननाथ माध्यमिक विद्यालयको कक्षा १० मै अध्ययनरत छात्रा विनिता नेपालीकोपनि उस्तै दुःखेसो छ। ‘नियमित बिजुली आपूर्ति नहुँदा निकै समस्या हुने गरेको छ। हामी जस्तो विपन्न परिवारको घरमा वैकल्पिक ऊर्जा सोलारको व्यवस्था पनि हुँदैन,’ उनले भनिन्।

नियमित विद्युत्  आपूर्ति नहुँदा विद्यार्थीजस्तै साना उद्योग–कलकारखाना, व्यापार–व्यवसाय गर्नेहरू पनि मारमा परेका छन्। चन्दननाथ नगरपालिका– ४ का मोबाइल मर्मत पसल सञ्चालक कमल नेपालीले राष्ट्रिय प्रशारण लाइन पुगेपछि भएको सोलार पनि बेचे।  ‘राष्ट्रिय प्रशारण लाइन पुगेपछि सधैँ बिजुली आउँछ होला भन्ने भयो। तर, अहिले नियमित विद्युत नआउँदा निकै समस्या खेप्नुपरेको छ,’ उनले भने, ‘बेलुका त बिजुली सधैँ आउँदैन। दिउँसो पनि नआउँदा मोबाइल मर्मतगर्न आएका धेरै ग्राहक फर्केर जान्छन्।’ एक त आर्थिक मन्दीले व्यापार–व्यवसाय नै ठप्पभएको वेला, त्यसमाथि पनि बिजुली नहुँदा आउने एक–दुई ग्राहक पनि फर्केर जाने गरेको उनले सुनाए।

०७८ साउन महिनामा जुम्ला राष्ट्रिय प्रशारण लाइनसँग जोडिएको हो। दैलेखदेखि कालीकोट र कालीकोटदेखि जुम्ला राष्ट्रिय विद्युत् प्रसारण लाइन पुगेको छ। राष्ट्रिय विद्युत् प्रसारण लाइनमा जोडिए पनि नियमित बिजुली आपूर्तिमा भने चुनौती हुँदै आएको छ।

नागरिक अगुवा राजबहादुर महतका अनुसार जुम्ला मुकामसहित यहाँका केही गाउँबस्तीमा राष्ट्रिय प्रशारण लाइन पुगेपनि नियमित बिजुली आपूर्ति हुन सकेको छैन।  ‘नियमित विद्युत आपूर्ति नहुँदा यहाँका नागरिकले राष्ट्रिय प्रशारण लाइन पुगेको महसुस गर्न सकेका छैनन्,’ उनले भने, ‘संघीय सरकार विदेशमा बिजुली बच्ने सम्झौता गर्छ, तर कर्णालीका नागरिक अझै अँध्यारोमा छन्।’

कर्णाली राजमार्ग हुँदै लामो दूरीको भिरालो भौगोलिक जमिनमा राष्ट्रिय विद्युत् प्रसारण लाइन जोडिएकाले नियमित बिजुली आपूर्तिमा चुनौती देखिएको हो। कर्णाली राजमार्गमा विभिन्न खण्ड र यो राजमार्गसँग जोडेर विभिन्न सहायक सडक निर्माण गरिँदा जथाभावी डोजर प्रयोग हुँदै आएको छ। त्यसले बिजुलीका पोल ढल्ने र तारचुँडिँदा नियमित बिजुली आपूर्तिमा समस्या आउने गरेको छ।

लामो दूरीको लाइन हुँदा हावाहुरी, वर्षा र हिमपातले पनि नियमित बिजुली आपूर्तिमा समस्या हुने गरेको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेश रावलले बताए।  ‘लामो दूरीको लाइन भएका कारण बिग्रेको खण्डमा मर्मत गर्न पनि समय लाग्छ। विद्युतमा केही समस्या आएपछि तुरुन्तै मर्मतका लागि टोली परिचालन गरेका हुन्छौँ। तर, भौगोलिक बनावट पनि अप्ठ्यारो छ,’ उनले भने, ‘अहिले जुम्लासम्मपुगेको ११ केभिए लाइन हो। यो निकै कम क्षमताको विद्युत् हो। सहरीकरण बढ्दैगरेपछि बिजुली लोड पनि बढ्दै गएको छ। लोड धान्न नसकेर विद्युत् फल्ट हुने गरेकोछ।’

नेसनल ग्रिड कम क्षमताको हुनु र यहाँ स्थानीय स्तरमा पनि विद्युत् उत्पादन नहुनुले नियमित विद्युत् आपूर्तिको समस्या झेल्नुपरेको उनको भनाइ छ। नेपालगन्ज, सुर्खेतर दैलेखमा वैशाख–जेठ महिनामा विद्युतको अत्यधिक लोड बढ्छ। गर्मी बढेपछि विद्युतका विभिन्न उपकरण सञ्चालन गरिने भएकाले लोड बढेको केन्द्रका प्रमुख रावलले बताए।

‘३३केभिएको लाइन विस्तारका लागि ठेक्का लागेको छ। यो निर्माण नभएसम्म र पातारासी गाउँपालिकास्थित चुकेनी विद्युत् आयोजना निर्माण नभएसम्म विद्युतको समस्यान्यूनीकरण हुने सम्भावना देखिँदैन,’ उनले भने, ‘अर्को १३२ केभिए विद्युत्विस्तारको पनि कुरा छ। तर, यसमा निकै समय लाग्ने देखिन्छ।’