☰ open Loading... 12 April 2024|  

कालीकोटमा नेपाली कागज उद्योग स्थापना
  | १७ असार २०८०, आईतवार ०५:२५

कालीकोट। कालीकोटमा नेपाली कागज उत्पादनका लागि उद्योग स्थापना गरिएको छ । नरहरिनाथ गाउँपालिका -५ रुप्सामा नेपाली कागज उत्पादनका लागि उद्योग स्थापना गरिएको हो ।

स्थानीयस्तरका पाइने कच्चा पदार्थ सङ्कलन गरेर टोप्ला लघुउद्यम विकास समूहले नेपाली कागज उद्योग सञ्चालन गरेको गाउँपालिका उद्यम विकास शाखाका प्रमुख दीपेन्द्र विष्टले जानकारी दिए ।

उनका अनुसार दुई लाख ४० हजार रुपैयाँमा टोप्ला लघुउद्यम विकास समूह गठन गरी कागज उद्योग सञ्चालन गरिएको हो । गाउँपालिकाले तीन वर्ष पहिलेदेखि स्थानीय कच्चा पदार्थबाट हुने उत्पादनलाई लघु उद्योग स्थापनालाई प्राथमिकतामा राख्दै आएको थियो ।

गत वैशाखमा स्थापना भएको उद्योगबाट हालसम्म दुई सय थानभन्दा बढी नेपाली कागज उत्पादन भइसकेको टोप्ला लघुउद्यम विकास समूहका अध्यक्ष जसमल बोगटीले जानकारी दिए ।

नेपाली कागज बनाउन चाहिने अन्य केमिकल कास्टिङ सोडा, ब्रिफ पाउडर र नुरी खरिद गरी ल्याइएको उनको भनाई छ । उनका अनुसार कागज बनाउनका लागि आवश्यक कच्चा पदार्थ गाउँमै उत्पादन हुने गरेको छ । उद्योगमा चार जना स्थानीयले रोजगारी पाएका छन् ।