☰ open Loading... 20 September 2024|  

सरकारको समर्थनमा सभामुख संलग्न हुने व्यवस्था संविधानमा छैन : कोइराला
  | २२ असार २०८०, शुक्रबार ०५:२३

काठमाडौँ — नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले प्रदेश सरकार गठन वा समर्थनमा सभामुख संलग्न हुने व्यवस्था संविधानले नगरेको बताएका छन् ।

कोशी प्रदेश सरकार गठनको सन्दर्भमा बिहीबार उनले सामाजिक सञ्जाल फेसबुकमा प्रदेश सरकार गठन वा समर्थनको सवालमा कुन पार्टीको समर्थन रहने भन्ने कुरा सोही पार्टीको संसदीय दल वा समितिबाट प्रदेश प्रमुखलाई जानकारी दिन सकिने व्यवस्था भएको बताएका छन् ।

‘प्रदेश संसद्को सभामुख संलग्न भएको दलको समर्थनमा सरकार निर्माण हुने प्रक्रियामा सो दलले आफ्नो सदस्य संख्यामा सभामुखलाई समेत गणना गरी पठाउने कुराको संवैधानिक व्याख्या छैन । तर सभामुख आफैँले हस्ताक्षर गरेर सरकार गठनमा समर्थन रहेको कुरा लिखित रुपमा पेस गरेको अवस्था हो भने यस्तो कार्य संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक संसदीय पद्धतिको सिद्धान्तविपरीत हुन जान्छ‚’ उनले लेखेका छन्‚ ‘सभामुखको संवैधानिक भूमिका भनेको व्यवस्थापिका संसद्को कार्य सञ्चालन गर्नु र अध्यक्षता गर्नु हो । यदि संसद्‌मा पेस भएका विषयमा मतदान भएको अवस्थामा मत बराबर भएमा निर्णायक मत जाहेर गर्नेबाहेक कार्यपालिका गठन, विघटन र समर्थनमा सक्रिय रही हस्ताक्षर गर्नु संसदीय लोकतन्त्रको मर्यादा, अभ्यास र कानुनी शासनको विपरीत हुन जान्छ ।’

कोशी प्रदेशमा नेपाली कांग्रेसका नेता उद्धव थापा नेतृत्वको सरकार गठन गर्न दाबी पेस भएसँगै उनले विश्वासको मतका लागि सकेसम्म राप्रपालाई सरकारमा सहभागी गराएर समर्थन जुटाउने‚ यदि उक्त समर्थन प्राप्त नभएको अवस्थामा सभामुखको निर्णायक मतले भए पनि विश्वासको मत प्राप्त गर्ने बताएका थिए ।