☰ open Loading... 20 September 2024|  

कर्णालीमा धमाधम बन्दैछन् रंगशाला र खेलमैदान
  | २६ असार २०८०, मंगलवार ०५:५०

सुर्खेत । कर्णालीमा १० औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी खेलसँग सम्बन्धित पूर्वाधारहरु धमाधम निर्माण भइरहेका छन् । २०८१ सालको मंसिर २ गतेदेखि कर्णालीमा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुँदैछ ।

प्रतियोगिता अन्तर्गतका खेलहरु सञ्चालनका लागि धमाधम पूर्वाधार निर्माण भइरहेको कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव बिश्वमित्र सञ्ज्यालले बताए ।

प्रदेश रंगशालाको काम ६० प्रतिशत पूरा

कर्णाली प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा अघि सारेको प्रदेश रंगशालाको ६० प्रतिशत काम पूरा भएको छ । प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव सञ्ज्याल ११ जेठ २०८१ भित्र निर्माण सक्नुपर्ने गरी ठेकेदारसँग सम्झौता भए पनि त्यसअघि नै काम सकिने बताउँछन् ।

‘सम्झौता अवधिभन्दा ६ महिना अगावै काम सम्पन्न गर्ने हाम्रो लक्ष्य छ । सोही अनुसार निर्माण कम्पनीले कामलाई तिब्रता दिएको छ’, उनले भने । प्रदेश सरकारको १ अर्ब ५९ करोड रुपैयाँ लागत रहेको रंगशाला निर्माणको जिम्मा नेपाल र भारतीय कम्पनी एमएसी/जीएसएल जेभीले पाएका छन् ।

१० हजार दर्शक क्षमता भएको रंगशालामा थ्रीडी एनिमेसन, दर्शक प्याराफिटमा ४ हजार कुर्सी जडानको काम सकिएको र भीआईपी तर्फको प्याराफिट निर्माण अन्तिम चरणमा पुगेको परिषद्ले जनाएको छ । त्यस्तै पौडी पोखरी, व्यवसायिक सटर, गेट निर्माण, रूख रोप्ने र हरियाली बनाउने काम तिब्र रुपमा भइरहेको छ ।

‘मैदानमा दुबो लगाई स्तरवृद्धि गर्ने, एथलेटिक्स ट्रयाकको सबबेस र नाली निर्माणको काम पनि धमाधम भइरहेको छ’ सदस्य सचिव सञ्ज्यालले भने ।

चालु आर्थिक वर्षमा रंगशाला निर्माणको काममा ६४ करोड ७९ लाख रुपैयाँ खर्च भएको परिषद्ले जनाएको छ ।

कहाँ के बन्दैछ ?

प्रदेश खेलकुद विकास परिषद्का अनुसार जुम्लाको राजासिम मैदानमा माटो भर्ने र लेभलिङको काम भइरहेको छ । यो योजनामा ५० लाख रुपैयाँ छुट्याइएको छ ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको पातिहाल्नामा क्रिकेट मैदान निर्माण अन्तिम चरणमा पुगेको छ । यो मैदान निर्माणमा ९४ लाख १७ हजार रुपैयाँ खर्च भएको परिषद्ले जनाएको छ ।

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षमा प्रदेश रंगशालामा ८५ करोड, हुम्लाको हक्की मैदान निर्माणमा ५० लाख, कालीकोट भलिबल कभर्डहल निर्माणमा ६० लाख, सुर्खेत चिसापानी खेलमैदान निर्माणमा २४ लाख, मैनतडा खेल मैदान निर्माणमा १८ लाख, चौरजहारी रंगशालामा ६० लाख, कालिञ्चोक मैदानमा २५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

जिल्लास्तरीय मैदान निर्माणमा दुई करोड, जाजरकोट कुदु रंगशाला निर्माणमा १५ लाख, १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका लागि ७० लाख, प्रदेशस्तरीय टिम तयारी तथा प्रशिक्षणका लागि चार करोड ७० लाख र मुख्यमन्त्री कप प्रदेश र जिल्लाका लागि एक करोड १० लाख रुपैयाँ विनियोजन गरिएको सदस्य सचिव संज्यालले जानकारी दिए ।

खेललाई श्रेणीमा वर्गीकरण

प्रदेश खेलकुद विकास परिषदले खेलहरुलाई क, ख र ग श्रेणीमा वर्गीकरण गरी प्रशिक्षण र प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको छ ।

सदस्य सचिव सञ्ज्यालका अनुसार ‘क’ श्रेणीमा एथ्लेटिक्स, उसु, आईटीएफ, कराते र तेक्वान्दो गरी ५ वटा खेल राखिएको छ ।

‘ख’ श्रेणीमा बक्सिङ, फुलकन्ट्याक्ट कराते, जुडो, हक्की, रग्बि, हेन्डवल र बास्केटवल गरी ७ वटा खेल राखिएको छ ।

‘ग’ श्रेणीमा कबड्डी, क्रिकेट, खोखो, व्याडमिन्टन, भलिबल, भारोत्तोलन, फुटवल, सुटिङ, सेपाकताक्रो र पौडीसहित १० वटा खेललाई राखिएको छ ।

२०७९ असोज २८ देखि कात्तिक ३ गतेसम्म पोखरामा सञ्चालन भएको नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीले २ वटा स्वर्ण पदक, ४ रजत र १२ कास्य गरी १८ वटा पदक प्राप्त गरेको थियो ।

त्यस्तै वैशाख १५ देखि १७ गतेसम्म काठमाडौंमा सञ्चालन भएको केन्द्रीय १३ औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा कर्णाली प्रदेशले ४ स्वर्ण, ३ रजत र १० कास्यसहित १७ पदक जितेर पाचौं भएको थियो ।अनलाईन खबरबाट