☰ open Loading... 19 September 2024|  

सशस्त्रमा बढुवाको व्यापक तयारी
  | १ श्रावण २०८०, सोमबार १२:०५

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले आइतबार सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकदेखि सशस्त्र प्रहरी सहायक हबलदारसम्म बढुवाका लागि सूचना प्रकाशित गरेको छ ।

जसअन्तर्गत सशस्त्र प्रहरी सेवा साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, उपरीक्षक, नायब उपरीक्षक, निरीक्षक, वरिष्ठ नायब निरीक्षक, नायब निरीक्षक, सहायक निरीक्षक, वरिष्ठ हबलदार, हबलदार र सहायक हबलदार पदमा बढुवाका लागि आइतबार एकैपटक सूचना प्रकाशित गरिएको छ ।

यसैगरी, सशस्त्र प्रहरी सेवा प्राविधिक समूह सञ्चार तथा इन्जिनियरिङतर्फ प्राविधिक सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सहायक हबलदार पदमा समेत बढुवाका लागि सूचना प्रकाशित गरिएको छ । यसैगरी, आइतबार नै लेखा उप– समूहतर्फ पाँचजना र कानुन उप– उपसमूहतर्फ एकजनाको सशस्त्र प्रहरी नायब उपरीक्षक पदमा बढुवा सिफारिससमेत गरिएको छ ।

आइतबार नै १ सय ९८ जना हबलदारलाई वरिष्ठ हबलदार पदमा बढुवा सिफारिस गरिएको छ । यस प्रक्रियासँगै २०६४ सालमा भर्ना भएको सि.सं. ७ सशस्त्र प्रहरी निरीक्षकको अघिल्लो बढुवामा छुटेको टोली सशस्त्र प्रहरी नायब उपरीक्षक पदमा बढुवा हुनेछ । यसैगरी, २०६० सालमा भर्ना भएको सशस्त्र प्रहरी निरीक्षकको ठूलो टोली नायब उपरीक्षकमा रहेकामा सो टोलीसमेत सशस्त्र प्रहरी उपरीक्षक पदमा बढुवा हुनेछ ।

यसैगरी, बिल्लादार जवानतर्फ समेत एउटै दर्जामा लामो समय बस्नुपर्ने अवस्थामा यसबाट तल्लो दर्जासमेत लाभान्वित हुनेछन् । खाली पदमा बढुवा गर्दै जाने संगठनको नीति तथा प्रधानमन्त्री, गृहमन्त्री, गृहमन्त्रालयका कर्मचारी, अर्थमन्त्री र सो मन्त्रालयका कर्मचारीसमेत यसमा अत्यन्त सकारात्मक भएका कारण पनि एकैपटक ठूलो संख्यामा बढुवाका लागि प्रक्रिया सुरु भएको हो ।

अहिले बढुवा नहुने अवस्था भएको भए यी दर्जामा अझै ७÷८ वर्ष बढुवा नहुने अवस्था थियो । तर, सूचना प्रकाशितसँगै लामो समयसम्म बढुवा नहुने समस्या हट्ने भएको छ । विगत १७ वर्षदेखि रोकिएको बढुवा प्रक्रिया पनि सुरु भएको छ भने सशस्त्र प्रहरी बलमा केही वर्षयताको सबैभन्दा ठूलो संख्यामा एकैपटक बढुवासमेत हुनलागेको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेतृत्व सम्हालेदेखि नै खाली पद नराख्ने नीति लिएकै कारण पछिल्लो एक वर्षमा विभिन्न दर्जामा गरी करिब ३ हजार कर्मचारी बढुवा भइसकेका छन् । यस्तै, ३ हजार १ सयभन्दा बढीको पदस्थापन, २० जनाको विशेष बढुवा, करिब १० हजारको सरुवा, ४ सय ७८ जनाको समायोजन सरुवा र विभिन्न दर्जामा १ सय ११ जनाको नयाँ भर्ना भएको छ ।

लामो समयदेखि बढुवा जाम रहेको अवस्थामा आइतबार प्रकाशित सूचनाबाट कर्मचारीमा रहेको निराशासमेत हटेर जाने सशस्त्र प्रहरीका सहायक प्रवक्ता एवं सूचना शाखा प्रमुख डीएसपी शैलेन्द्र थापाले बताए ।