☰ open Loading... 20 September 2024|  

भारत ‘ए’सँग पराजित नेपाल समूह चरणबाटै बाहिरियो
  | २ श्रावण २०८०, मंगलवार ०६:५४

काठमाडौं : नेपाल श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । सोमबार श्रीलंकाको आर प्रेमदासा रंगशालामा भएको खेलमा भारत ‘ए’सँग ९ विकेटले पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको हो ।

 

भारत ‘ए’ भने सेमिफाइनल प्रवेश गरेको छ । सोमबार नै भएको अर्को खेलमा यूएई ‘ए’लाई पराजित गर्दै पाकिस्तान ‘ए’ पनि सेमिफाइनल प्रवेश गरेको छ भने यूएई समूह चरणबाटै बाहिरिएको छ ।

 

नेपालले दिएको १ सय ६८ रनको लक्ष्य भारत ‘ए’ले २२ दशमलब १ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो । भारत ‘ए’को जितमा ओपनर अभिषेक शर्माले ६९ बलमा १२ चौका र २ छक्कासहित सर्वाधिक ८७ रन बनाए । अर्का ओपनर साई सुदर्शन ५२ बलमा ८ चौका र १ छक्कासहित ५८ रनमा नट आउट रहे ।

 

पहिलो विकेटका लागि अभिषेक शर्मा र साई सुदर्शनले १९ ओभरमा १ सय ३९ रनको शतकीय साझेदारी गरेका थिए । यस्तै धुव्र जुरेलले १२ बलमा १ चौका र २ छक्काको सहयोगमा अविजित २१ रन बनाए । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले १ विकेट लिए ।

 

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपाल ३९ दशमलब २ ओभरमा १ सय ६७ रनमा अलआउट भएको थियो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ८५ बलमा ७ चौकाको सहयोगमा ६५ रनको योगदान दिए । गुलसन झाले ३० बलमा २ चौका र २ छक्काको सहयोगमा ३८ रन बनाए । सोमपाल कामीले १४ रन बनाएर आउट हुँदा देव खनाल १५ रनमा आउट भए ।

 

यस्तै आसिफ शेखले ७ रन बनाएर आउट भए भने भीम सार्की ४ रनमा आउट भए । कुशल भुर्तेल र कुशल मल्ल शून्य रनमा आउट भए । भारत ‘ए’का लागि निशान्त सिन्धुले ४ विकेट लिए । राजवर्धन हंगागेकारले ३ तथा हर्षित रानाले २ विकेट लिए ।

 

यसअघि भएको पहिलो खेलमा नेपाल  पाकिस्तान ‘ए’सँग चार विकेटले पराजित भएको थियो । यता भारतले आफ्नो पहिलो खेलमा युएई ‘ए’लाई आठ विकेटले हराएको थियो । नेपालले अब समूह चरणको अन्तिम खेलमा बुधबार यूएई ‘ए’सँग प्रतिस्पर्धा गर्नेछ ।