☰ open Loading... 19 September 2024|  

लागु भएन निःशुल्क कम्पनी दर्ता र पूँजी वृद्धिको घोषणा
  | ३ श्रावण २०८०, बुधबार ०५:५०

काठमाडौं । सरकारले राजपत्र सच्याउन नसक्दा निःशुल्क कम्पनी दर्ता र पूँजी वृद्धिको सरकारी घोषणा कार्यन्वयन प्रभवित भएको छ । आर्थिक वर्ष २०८०÷८१ को बजेटमार्फत सरकारले नयाँ कम्पनी दर्ता र कम्पनीमा पूँजी वृद्धि निःशुल्क गर्ने घोषणा गरेको थियो ।

साउन एक गतेदेखि नै सो घोषणा कार्यन्वयनमा जानु पर्नेमा यस सम्बन्धी राजपत्रको सूचना संशोधन नहुँदा तत्काल कार्यन्वयन हुन नसकेको कम्पनी रजिष्टारको कार्यालयले जनाएको छ ।

रजिष्ट्रार कार्यालयले एक सूचना जारी गर्दै साउन १ देखि नै उक्त कार्यक्रम कार्यन्वयन हुन नसकेको जनाएको हो । राजपत्र संशोधन हुन समय लागेका कारण हाल पुरानै व्यवस्थामा शुल्कसहित कम्पनी दर्ता हुने कार्यालयले जनाएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट कम्पनी दर्ता सम्बन्धि राजपत्र संशोधनका लागि मन्त्रिपरिषदमा पेश भएको कम्पनी रजिष्ट्रार महेश बरालले बताए । ‘मन्त्रिपरिषदमा संशोधन पेश भएको छ, त्यसपछि राजपत्र प्रकाशित हुने बेलासम्म पुरानै व्यवस्थामा कम्पनी दर्ता र पुँजी वृद्धि गर्नु पर्ने अवस्था छ,’ बरालले भने,‘हतार हुनेका लागि तत्काल पुरानै अवस्थामा शुल्कसहित दर्ता गर्न सकिन्छ तर हतार छैन भने एक हप्ता देखि १० दिनसम्म कुर्नु पर्ला ।’

यस सम्बन्धी व्यवस्थाका लागि तयार भएको राजपत्र मन्त्रिपरिषदमा पेश भए पनि त्यसपछि मन्त्रिपरिषद् बैठक बस्नै नसकेको कार्यालयले जनाएको छ । प्रधानमन्त्रीको शोकका कारण रोकिएको मन्त्रिपरिषद् बैठक सम्भवतः बुधबार बस्ने र यस सम्बन्धी निर्णय हुने कार्यालयको अनुमान छ । त्यसो भएमा दोस्रो साताभित्रै राजपत्र छापिने विश्वास कम्पनी रजिष्ट्रारको छ ।