☰ open Loading... 7 September 2024|  

घरघरमा अब प्रहरीको फोन नम्बर
  | ४ श्रावण २०८०, बिहीबार ०५:४४

कालिकोट । कालिकोटसहित कर्णालीका १० वटा जिल्लाका घरघरमा प्रहरीको फोन नम्बरसहित स्टिकर टाँस अभियान कालिकोटबाट शुभारम्भ गरिएको छ । सुरक्षित कर्णाली विशेष अभियान २०८० अन्तर्गत कर्णाली प्रदेशका घरघरमा प्रहरीको फोन नम्बरसहितको स्टिकर टाँस अभियान आइतबार एक कार्यक्रमबीच सदरमुकाम मान्मको एक घरबाट टाँसेर प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी र प्रहरी प्रमुख जयश्वर रिमालले शुभारम्भ गरेका हुन् ।

अब घरेलु हिंसा, सामुदायमा हुने विभिन्न खालका झैझगडाबाट पीडित जो कसैले प्रहरी कार्यालयको फोन नम्बर सहजै प्राप्त गर्न सकून् भनेर घरको ढोकामा टाँसेर नागरिकलाई सहज बनाउन यस अभियान थालिएको कालिकोटका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए । अब कोही कसैले न्याय खोज्न अल्मलिनु नपर्ने रिमालको भनाइ थियो ।

यो अभियान कर्णाली प्रदेशले थालेको हो । ‘अभियानलाई आत्मसाथ गर्न कालिकोटले पहिलोपटक कालिकोटका घरघरमा प्रहरीको फोन नम्बरसहितको स्टिकर टाँस गरेर सुभारम्भ गरेका छौं,’ कालिकोट प्रहरी प्रमुख रिमालले भने । यस अभियानले मुख्यतया घरेलु हिंसापीडित सजिलै न्यायको बाटोमा जानसक्ने भएकाले यो अभियान निकै प्रभावकारी हुने प्रमुख जिल्ला अधिकारी तथा कार्यक्रमका प्रमुख अतिथि जोरासिंह माझीले बताए ।