☰ open Loading... 5 February 2025|  

सोनी शर्मालाई क्रियाशील महिला पत्रकारिता पुरस्कार
  | ७ श्रावण २०८०, आईतवार १४:११

पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिकी उपाध्यक्ष सोनी शर्मालाई क्रियाशील महिला पत्रकारिता पुरस्कार २०७९ प्रदान गरिएको छ।

करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय शर्मालाई शुक्रबार पोखरामा आयोजित सम्मान समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शिक्षासेवी स्व हरिशचन्द्र वाग्ले क्रियाशील महिला पत्रकारिता पुरस्कार प्रदान गरेका हुन् ।

पुरस्कार अर्पण समारोहमा बोल्दै मुख्यमन्त्री पाण्डेले केही युट्युव च्यानल र पत्रकारहरुका गतिविधिका कारण पत्रकारिता क्षेत्र बदनाम हुँदै गएको भन्दै पत्रकारले सत्य समाचार सम्प्रेषण गर्नुपर्ने बताए ।

संचार क्षेत्रमा महिला पत्रकारहरुलाई समान अवसर र पहुँच स्थापित गराउनुपर्ने भन्दै पाण्डेले गण्डकी प्रदेश सरकारले ल्याउन लागेको मिडिया विधेयकले निष्पक्ष, स्वतन्त्र र भयरहित पत्रकारिताको विकासमा सहयोग पुग्ने बताए।

शिक्षासेवी स्वर्गीय हरिशचन्द्र वाग्लेको स्मृतिमा उनको परिवारबाट १ लाख ११ हजार १११ रुपैयाँको अक्षयकोषसहित स्थापित पुरस्कारको संचालक क्रियाशील पत्रकार महिला (डब्ल्यूडब्ल्यूजे) गण्डकी प्रदेश समिति रहेको छ ।

पत्रकार शर्मा नगद ११ हजार १११ रुपैयाँसहित सम्मानपत्रले सम्मानित भएकी हुन् । विभिन्न सञ्चारमाध्यम कार्यरत शर्मा क्रियाशील पत्रकार महिला तनहुँकी संस्थापक अध्यक्ष हुन् ।

पत्रकार शर्माले यसअघि स्वास्थ्य पत्रकारिता पुरस्कार, तनहुँ समाज हङकङले प्रदान गरेको युवा पत्रकारिता पुरस्कार ,नेपाल पत्रकार महासङ्घ तनहुँले प्रदान गरेको टीकानिधी ढुंगाना व्यास परासर पत्रकारिता पुरस्कार, ग्लोबल अन्तराष्ट्रिय उत्कृष्ट पत्रकारिता सम्मान, छायाँछवी पत्रकारिता सम्मान, ब्रिटिश वेलफेयरबाट पुरस्कार प्राप्त गरिसकेकी छिन् ।