☰ open Loading... 19 September 2024|  

कर्णालीमा बाढी पहिरोको उच्च जोखिम: तीन वर्षमा २ सय १८ ले ज्यान गुमाए
  | ७ श्रावण २०८०, आईतवार १४:१७

पश्चिम नेपालमा मनसुन प्रवेशसँगै उच्च जोखिम बढेको छ। कर्णाली विगतको तिन वर्षहरू हेर्दा बाढी पहिरोबाट दुई सय अठार जनाको मृत्यु भएको छ भने २७ जना बेपत्ता भएका छन्।

यो वर्ष कर्णालीमा झण्डै ३५ हजार तीन सय ३३ जना प्रभावित हुने आंकलन गरिएको छ। विगतका तथ्यांकलाई हेर्ने हो भने कर्णाली प्रदेशका रुकुम पश्चिम, दैलेख र सुर्खेत जिल्ला बाढी पहिरोको उच्च जोखिममा रहेका छन्।

आर्थिक वर्ष ०७७/७८ मा विपद्का घटनामा परि ८५ जनाको मृत्यु भएको छ। ४ सय १६ विपद्का घटना घटेका थिए। जसमा ११ जना बेपत्ता भए। घटनामा १ हजार १ सय ३४ घरमा क्षति पुगेको थियो। १ हजार ३ सय २१ घरपरिवार आंशिक तथा पूर्ण विस्थापित भएका थिए। ३५ करोड ५६ लाख ९९ हजार ५ सय ६४ रुपैयाँ बरावरको धनमाल क्षति पुगेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्यांकमा उल्लेख छ।

आर्थिक वर्ष ०७८/०७९ मा प्रदेशभर विपद्जन्य घटनामा ६८ जनाको मृत्यु भयो भने १६ जना बेपत्ता भए। ७३ जना घाइते भएका थिए। १ हजार २ सय १५ वटा विपद्का घटना भएका छन्। जसमा १ हजार १ सय ८६ घरमा क्षति भयो। ४ सय ४२ घरपरिवार विस्थापित भए। विपद्का कारण ५१ करोड ४१ लाख ५२ हजार २ सय ५७ धनजनको क्षति भएको थियो।

त्यस्तै चालु आर्थिक वर्ष २०७९/०८० को ज्येष्ठ महिनासम्म विपद् घटनामा परी ६५ जनाको मृत्यु भएको छ। चालु आर्थिक वर्षमा कर्णालीमा ३ सय ४८ वटा बाढी पहिरोका घटना घटेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार यस वर्ष कर्णालीमा २ हजार एक सय ७६ विपद्जन्य घटनामा परी २८ जना बेपत्ता भएका छन्। २ हजार ९ सय ४७ जना विस्थापित भएका छन्। १ सय १४ जना घाइते भए भने ६ हजार २ सय १७ घरमा पूर्ण तथा आंशिक क्षति पुग्दा ६४ करोड ४६ लाख ३१ हजार ७ सय ८४ रुपैयाँ बराबर धनजनको क्षति भएको प्रहरी रेकर्डमा उल्लेख छ।

यो आर्थिक वर्षमा कर्णालीमा सबैभन्दा धेरै हुम्लामा ९ सय ४० वटा मनसुनजन्य घटनामा परी ८ जनाको मृत्यु हुँदा ६ जना घाइते तथा ९ सय ४ घरमा क्षति पुग्यो। कर्णालीमा सोमवारबाट वर्षा सुरु भएको छ। वर्षासँगै हुने बाढी पहिरोको जोखिम उत्तिकै छ। जसका कारण नागरिकहरुलाई सचेत हुन समेत कर्णाली प्रदेश सरकारले अपिल गरेको छ।

वर्षातमा विपद्का घटना बढ्न थालेसँगै खोज उद्धार, राहत र पुनरस्थापना लागि प्रदेश सरकार तयारी अवस्थामा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गत रहेको विपद् व्यवस्थापन शाखाका अधिकृत कृष्णबहादुर रोकायाले बताए।

सरकारले चालु आर्थिक वर्षमा विपद् पूर्व तयारीका लागि मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना २०८० लाई अद्यावधिक गरी केही दिनमै लागु गर्ने तयारी गरिरहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।

विपद् पूर्व प्रभावित क्षेत्रमा विभिन्न खालका जनचेतना जगाउने तथा विपद्पछि खोज, उद्धार, राहत र पुनरस्थापनाका लागि प्रदेश सरकार, सम्बन्धित जिल्ला प्रशासन कार्यालय, तीन वटै सुरक्षा निकाय तथा रेडक्रसको उद्धार टोली हेलिकप्टरसहित तयारी अवस्थामा रहेको जनाइएको छ।

आर्थिक वर्ष ०७७/७८ मा कर्णालीका दश जिल्लामा एक करोड ६० लाख बराबरको राहत वितरण गरेको जनाइएको छ। यस्तै आर्थिक वर्ष ०७८/७९ मा ३ करोड १ लाख र चालु आर्थिक वर्ष ०७९/०८० मा ९७ लाख ९ हजार ९ सय २३ रुपैयाँ बराबरको राहत सामाग्री वितरण गरिएको थियो।